काम गर्ने दृढ इच्छाशक्ति भए अपाङ्गताले पनि छेक्दैन

कञ्चनपुर - कृष्णपुर नगरपालिका–२ का करनसिंह साउद जन्मजात दृष्टिविहीन हुन्। दृष्टिविहीन भएर पनि परिवारकै सहारामा बाँच्न उनलाई रुचि भएन। त्यसैले पिठ्युमा कालो झोला बोक्दै सेतो छडीको सहारामा बजार र ग्रामीण क्षेत्रमा करनले ठूलो स्वरमा कराएर अगरबत्ती बेच्दै आएका छन्। यसरी दैनिक ठूलो स्वरमा चिच्याएर सबैलाई आग्रह गरेर बत्ती बेच्ने उनको नियमितता भइसकेको छ।

स्थानीय बासिन्दाले प्राय साउदबाटै अगरबत्ती किन्ने गरेकाले त्यसबाट प्राप्त आम्दानीले परिवारका साथै आफ्नो पनि दैनिक खर्चको जोहो गर्दै आएका छन्। काठमाडौँमा रहेको उज्यालो दृष्टिविहीन प्रगति समूहले उत्पादन गरेको अगरबत्ती करनले बेच्दै आएका हुन्। उक्त समूहले उत्पादन गरेको अगरबत्ती प्रतिबण्डल रु ६२० मा खरिद गरी बिक्री गर्ने गरेको उनले बताए। “एक बण्डल बिक्री भए दोब्बर बढी फाइदा हुन्छ”, करनले भने, “घरबाट बिहानै निस्कन्छु र साँझ अबेर घर फर्कने गरेकोे छु। कुनै दिन पूरै बण्डल अगरबत्ती बिक्री हुन्छ। कुनै दिन थोरै हुन्छ। घरको खर्च यसबाटै चलेको छ।”

“चिसो छ भनेर घरभित्रै बस्नु भएन। काम नगरी कमाइ हुँदैन। चिसोको पर्वाह नगरी बजार र ग्रामीण क्षेत्रमा झोलामा अगरबत्ती राखेर निस्कने गरेको छु। अगरबत्ती आवश्यक भएकाले सडकमा कराएको आवाज सुनेपछि बोलाएर खरिद गर्छन्। हामीलाई माया चाहिएको छैन। कामको सम्मान मात्र गरिदिए पुग्छ।”, उनको भनाइ थियो ।

“अपाङगता छ भनेर घरभित्रै गुम्सिएर बस्नु हुँदैन, करनले भने, सीप सिकेको छ भने त्यसलाई निखार्दै व्यावसायिक बन्न खोज्नुपर्छ। सीप छैन भने पनि सिक्नु पर्छ। जानेको काम गरे पनि पुग्छ। परिवारको बोझ बन्नु हुँदैन। हामी पनि गर्न सक्छौँ भनेर समाजलाई देखाउनु पर्छ।” दृष्टिविहीन हुनुपरेकामा आफूलाई चिन्ता नभएको गर्वका साथ बताउने उनले भने, “मनमा आँट र काम गर्ने दृढ इच्छाशक्ति भए अपाङ्गताले पनि काम गर्नबाट रोक्न सक्दैन। हामीजस्ता अपाङ्गता भएका व्यक्तिमा समेत योग्यता, क्षमता भएको कुरा सबैले बुझेदैनन्। राज्यले समेत अपाङ्गता भएका व्यक्तिलाई सीप सिकाउन र निर्खान चाहँदैन। त्यसैले पनि हामीभित्र भएको प्रतिभा प्रस्फुटन हुनसकेको छैन।” अपाङ्गता भए पनि सपाङ्गभन्दा कुनै कुरामा कम नभएको करनले जोड दिए। विगत चार महिनादेखि अगरबत्ती बेच्दै आएको र यसबाट आफूले रु छ हजारदेखि रु १० हजारसम्म कमाइ गर्न सकेको उनले बताए।

अगरबत्ती ल्याउनका लागि करनलाई काठमाडौँसम्म पुग्न पर्दैन। शुक्लाफाँटा नगरपालिका–१० झलारीका दृष्टिविहीन इन्द्र रानाले काठमाडौँबाट अगरबत्ती मगाउने गरेकोमा उनीबाटै करनले पनि अगरबत्ती खरिद गरी बेच्दै आएका छन्। उनले भने, “आफ्नो मुहार त म देख्न सक्दिनँ तर देख्न नसक्ने यो मुहारलाई उज्यालो भएको महसुस गर्ने सपना पूरा गर्नका लागि प्रयासरत छु। आफ्नै खुट्टामा उभिएर स्वाभिमानका साथ उभिने लक्ष्य पूरा गर्न यो संसार नछाडुञ्जेल जारी राख्छु।” अपाङ्गता भएका व्यक्तिलाई समेत करनले स्वरोजगार भएर बाँच्नुपर्ने सुझाव दिँदै आएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×