काठमाडौँ । नेपालका लागि जापानका राजदूत महामहिम मायदा तोरुले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका क्रममा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठ मनाउने तयारी तथा यससम्बन्धी कार्यक्रमहरूबारे व्यापक छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
भेटमा राजदूत तोरुले नेपालमा समयमै चुनाव सम्पन्न गर्ने सरकारको सङ्कल्पको प्रशंसा गर्दै जापान सरकार आवश्यक सहयोग गर्न सदैव तयार रहेको पुनः व्यक्त गरे। उनले नेपाल–जापान सम्बन्ध झनै सुदृढ बनाउन दुवै देशबीचको साझेदारीलाई अझ प्रभावकारी बनाउँदै लैजाने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकास, पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा आपतकालीन व्यवस्थापनलगायतका क्षेत्रमा दिएको महत्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि दुवै देशबीच सहयोग र सदभावको सम्बन्ध निरन्तर रहने बताइन्।
दुवै पक्षले ७०औं वर्षगाँठका कार्यक्रमलाई अर्थपूर्ण र सफल बनाउने निर्धारण गर्दै आपसी हितका विषयहरूमा सहकार्य विस्तार गर्ने सहमति जनाएका छन्।
.png)
.png)
.png)
.png)
.png)
.png)


