धनुषाका १०मा कांग्रेस, तीनमा जसपा,दुईमा एमाले र एकमा माओवादी केन्द्र विजयी

धनुषा - गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत धनुषाका १८ पालिकामध्ये १६ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। दुईवटाको मतगणना जारी छ।

तीमध्ये १० मा नेपाली कांग्रेस, तीनमा जनता समाजवादी पार्टी (जसपा), दुईमा नेकपा (एमाले) र एकमा नेकपा (माओवादी केन्द्र)का उमेदवारले विजयी हासिल गर्न सफल भएका छन्। जनकपुरधाम उपमहानगपालिका र क्षीरेश्वरनाथ नगरपालिकाको मत परिणाम आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

सार्वजनिक भएको पछिल्लो मत परिणामअनुसार लक्ष्मीनियाँ गाउँपालिका अध्यक्षमा कांग्रेसका भोगेन्द्र मिश्र र उपाध्यक्षमा पनि सोही पार्टीका फूलकुमारी यादव विजयी भएका छन्। 

औरही गाउँपालिकाको अध्यक्षमा एमालेका उमाशंरप्रसाद साह र उपाध्यक्षमा सोही पार्टीका पुनम साह निर्वाचित भएका छन्। धनौजी गाउँपालिकामा कांग्रेसका अध्यक्षमा राजकुमार साह र उपाध्यक्षमा रामवतीदेवी मण्डल दुवै पदमा विजयी भएका छन्।

त्यस्तै, जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा जसपाका दिपीन देव निर्वाचित भएका छन्। उपाध्यक्षमा कांग्रेसका कमला सहगल निर्वाचित भएकी छन्। विदेह नगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि पुनः एमाले उमेदवार बेचनदास तत्मा निर्वाचित भएका छन्। उपप्रमुखमा पनि सोही पार्टीका आशा झा निर्वाचित भएकी छन्।

धनुषाधाम नगरपालिको प्रमुखमा कांग्रेसका बालेश्वर मण्डल र उपप्रमुखमा कांग्रेसकै विद्यादेवी भुजेल निर्वाचित भएका छन्। कमला नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका उमेदवार विशेश्वर यादव  र उपप्रमुखमा कांग्रेसकै शिलादेवी मण्डल निर्वाचित भएका छन्।

सहिदनगर नगरपालिकाको प्रमुखमा जसपाका उमेदवार दिनेशप्रसाद यादव र उपप्रमुखमा कांग्रेसकी सुनीताकुमारी सिंह विजयी भएका छन्। मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्षमा जसपा उमेदवार जयकुमार यादव र उपाध्यक्षमा जसपाकै सैदा खातुन निर्वाचित भएका छन् ।

बटेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उमेदवार रामअशिष महतो र  उपाध्यक्षमा सोही पार्टीकै फूलकुमारी सिंह निर्वाचित भएका छन्। मिथिला नगरपालिकाको प्रमुखमा कांग्रेसका महेन्द्र महतो र उपप्रमुखमा एमालेका सुनीतासिंह बुढाथोकी निर्वाचित भएका छन्।

त्यस्तै, नगराइन नगरपालिकाको प्रमुखमा कांग्रेसका उमेदवार विनयकुमार यादव र उपप्रमुखमा एमालेका राधादेवी यादव विजयी भएका छन्। गणेशमान चारनाथ नगरपालिकाको प्रमुखमा कांग्रेसका जितनारायण यादव र उपप्रमुखमा कांग्रेसकी तुलसाकुमारी पाण्डेय निर्वाचित भएका छन्।

त्यस्तै, सबैला नगरपालिकाको प्रमुख पदमा माओवादीका केन्द्रका उमेदवार कारीराम यादव र उपप्रमुखमा रहिमा खातुन निर्वाचित भएका छन्। हंसपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका उमेदवार प्रदीप यादव र उपप्रमुखमा कांग्रेसकै दुर्गा देवी निर्वाचित भएका छन्।

त्यस्तै, मिथिला बिहारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उमेदवार राजेन्द्रप्रसाद यादव र उपप्रमुखमा माओवादी केन्द्रका उमेदवार शोभादेवी साह निर्वाचित भएका छन्। धनुषाको क्षीरेश्वरनाथमा अहिलेसम्मको मतगणनामा एमालेले र जनकपुरधाममा स्वतन्त्र उमेदवार मनोज साहले निरन्तर अग्रता कायम राखेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×