खाडीबाट फर्किएर खेतीमा जम्न थाले युवा

काठमाडौँ । प्रधानमन्त्री कृषि परियोजनाले आधुनिक कृषि यन्त्र वितरण गरी झापाका विभिन्न गाउँका किसानलाई खेतीमा प्रोत्साहन गरेपछि कृषिकै लागि खाडीदेखि युवाहरू फर्किन थालेका छन्।

झापाको कचनकबल गाउँपालिकामा धान सुपरजोनमा १८ समूह आबद्ध छन्। फेर्कागाछीका ४० वर्षीय ललितकुमार गणेशले १० वर्ष वैदेशिक रोजगारीमा बिताए। गाउँमा निर्वाहमुखी खेतीले परिवारको भरणपोषण कठिन भएपछि वैदेशिक रोजगारीमा खाडी भासिएका ललितकुमार र उनका भाइ हंश गणेश प्रधानमन्त्री कृषि परियोजनाले अवसर ल्याएपछि गाउँ नै फर्किएर कृषि पेशामा जोडिएका छन्।

“पहिला पहिला खेतीपातीबाट हातमुख जोर्न मुस्किल थियो र हामी विदेश गएका थियौं,” ललितकुमारले गाउँको अवस्था बदलिएको बताउँदै भन्नुभयो,“अब त तीन बालीखेती हुन्छ। एक बाली तोरी लगाएको छु। दुई बाली धान नै फल्छ। गाउँका मानिस अब विदेश जाने सोचमा कोही पनि छैनन्।” यन्त्र उपकरणको प्रयोग बढेको हुँदा खेती गर्दा मानिसलाई शारीरिक श्रम पनि कम परेको उनले बताए।

यहाँ धान र अरु बालीको उत्पादकत्व बढेको छ । एक बिघामा ४० मन धान फलाउन गाह्रो भएको ठाउँमा अहिले सजिलै प्रति बिघा सय मनभन्दा बढी फलिरहेको छ। स्थानीय उत्पादन बढेसँगै बजारको पनि खासै समस्या नभएको किसान बताउँछन्। दमकको किसान बीउ उद्योगलगायतका संस्थाले किसानको खेतमै आएर यहाँको उत्पादन किनेर लैजाने गरेका छन्। तराईमूलका गनगाई, राजवंशी र मुस्लिम समुदायको अधिक बसोबास रहेको यस पालिकामा पहाडी मूलका समुदायको पनि बसोबास छ। गाउँलेहरुले घरमा कुटानीपिसानी गरेको धान र चिउरा अन्यत्रबाट आउने मानिसले उचित मूल्यमा किनेर लैजाने गरेका छन्।

गाउँभरि कृषियन्त्रको प्रयोग बढेसँगै किसान पावर टिलर, धान रोप्ने मेसिनलगायतका उपकरण चलाउन पोख्त भएका छन्। यान्त्रिक उपकरण चलाउन अनुभवी मानिएका हरित कृषि समूहका अध्यक्ष कनहैयालाल गणेशलाई मेचीनगरको एनएमसी नमूना कृषि परियोजना र जिल्लाभरका ठूला कृषि सहकारीले मेसिन सञ्चालन सम्बन्धी तालिम दिनका लागि बोलाउने गरेका छन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बनियानी शाखा कार्यालयका प्राविधिक अमृत कार्कीले सुपरजोनका किसानलाई पचास प्रतिशत अनुदानमा कृषियन्त्र दिइने गरिएको र नयाँ मेसिनरी चलाउन परियोजनाले आवश्यक तालिमसमेत प्रदान गर्दै आएको बताए। उनले परियोजना आएपछि कृषि प्रणालीमा क्रान्तिकारी परिवर्तन भएको र यसबाट स्थानीय किसान लाभान्वित भइरहेको बताएका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×