काठमाडौँ- साविक विजता मच्छिन्द्र फुटबल क्लबलाई सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा अग्रता बढाउने अवसर छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने पहिलो खेलमा मच्छिन्द्रले सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। दिउँसो १ बजे हुने खेलमा मच्छिन्द्रले नतिजा आफ्नो पक्षमा निकाल्न सके दोस्रो स्थानको मनाङ–मर्स्याङ्दी क्लबसँग ९ अंकको अग्रता लिनेछ।
मनाङले भोलि सशस्त्र प्रहरी बल (एपीएफ) क्लबसँग प्रतिस्पर्धा गर्नेछ। मनाङ उक्त खेलमा बराबरीमा रोकिए मच्छिन्द्रले दुई खेलआगाडि नै उपाधि पक्का गर्नेछ। अन्यथा, मच्छिन्द्रलाई उपाधि पक्का गर्नका लागि अर्को एक अंकको अवश्यकता हुनेछ। लिगमा तीन चरणका खेल बाँकी हुँदा मच्छिन्द्र १० खेलबाट २६ अंक जोडेर शीर्ष स्थानमा छ । समान खेलबाट २० अंक जोडेको मनाङ दोस्रो स्थानमा छ।
मच्छिन्द्रले आज सातदोबाटोसँग खेलेपछि थ्री स्टार क्लब र एपीएफसँग खेल्नेछ। मनाङले भोलि एपीएफसँग खेलेपछि न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबसँग खेल्न खेल्नेछ। आजै दशरथ रंगशालामा हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र थ्री स्टारले प्रतिस्पर्धा गर्नेछन्। अपराह्न ४ः४५ बजे हुने खेलमा पुलिस जित निकाल्दै रेलिगेसनको सम्भावना टार्न चाहन्छ भने थ्री स्टार शीर्ष तीनको सम्भावना बलियो बनाउन चाहन्छ।
पुलिस १० अंक जोडेर दशौँ स्थानमा छ। त्यो रेलिगेसन क्षेत्रमा रहेको ब्रिगेड ब्वाइज क्लबभन्दा तीन अंकले मात्र माथि हो। थ्री स्टार १७ अंक जोडेर चौथो स्थानमा छ । त्यो तेस्रो स्थानको आर्मीभन्दा एक अंक र दोस्रो स्थानको मनाङभन्दा तीन अंकले पछाडि हो। आजै सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा दिउँसो एक बजे आर्मीले हिमालयन शेर्पा क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ। आर्मी १८ अंक जोडेर लिगको तेस्रो स्थानमा छ। हिमालयन १२ अंक जोडेर आठौँ स्थानमा छ।