काठमाडौँ - पछिल्लो चार वर्षमा युरोपियन फुटबलमा निरन्तर राम्रो प्रदर्शन गर्ने मिडफिल्डरमा पर्छन् २७ वर्षीीय मिडफिल्डर ब्रुनो फर्नान्डेज। पोर्चुगलको स्पोर्टिङको क्लबबाट म्यानचेस्टर युनाइटेड आइपुगेका फर्नान्डेजले प्रिमियर लिगमा आफूलाई स्थापित गरिसकेका छन्।
कतार विश्वकप २०२२ को युरोपियन प्लेअफमा उत्तरी म्यासेडियोनियालाई २-० गोलले हराउँदा फर्नान्डेजले १ गोल गरेका थिए। विपक्षीको बक्सको छेउमा फर्नान्डेज सधैँ चुनौतीको रूपमा रहन्छन्। उनको बल प्रहार गर्ने क्षमताका साथै आफ्नो सहकर्मीका लागि सटिक पास निकाल्ने क्षमताले गर्दा उनी डिफेन्डरका लागि टाउने दुखाई बन्ने गर्छन्। डेड-बलको अवस्था होस् या पेनाल्टी, उनी त्यसमा पनि भरोसायोग्य खेलाडी हुन्।
सन् २०१७ मा पोर्चुगलका लागि डेब्यू गरेका फर्नान्डेजले हालसम्म देशका लागि ५१ खेलमा १३ गोल गरेका छन्। जारी विश्वकपमा पनि उनले २ गोल गरिसकेका छन्। समूह एचमा रहेका पोर्चुगलले २ खेलमा जीत तथा १ खेलमा पराजय व्यहोर्दै समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको हो। आज राति हुने खेलमा पोर्चुगलले समूह जीको उपविजेता स्वीटजरल्याण्डको सामना गर्दैछ।