काठमाडौँ - अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले बीबीसी ‘स्पोर्ट्स पर्सनालिटी वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ अवार्ड प्राप्त गरेका छन्। बीबीसीले कतार विश्व कप विजेता मेस्सीलाई सन् २०२२ को अवार्ड प्रदान गरेको हो।
३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई यसवर्षको फिफा विश्व कप फुटबलको उपाधि दिलाएका थिए। फाइनलमा फ्रान्स पेनाल्टी शुटआउटमा ४(२ गोलले पराजित भयो। मेस्सीको कप्तानीमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्व कपको उपाधि जितेको हो। योसहित अर्जेन्टिना तेस्रो पटक विश्व कप उपाधि जित्न सफल भएको छ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड मेस्सीले विश्व कपमा गोल्डेन बल समेत प्राप्त गरेका छन्। पाँचौँ पटक विश्व कप खेलेका मेस्सीले यो विश्व कपमा समग्रमा ७ गोल गरेका थिए। विश्व कपमा अर्जेन्टिनासँग पराजित फ्रान्सका किलियन एम्बापेले प्रतियोगितामा ८ गोल गरी गोल्डेन बुट जितेका छन्।