केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथासङ्ग्रह सार्वजनिक

काठमाडौँ। अमेरिकामा इञ्जिनियरिङको काम गरिरहेका केशवराज ज्ञवालीको पहिलो कथासङ्ग्रह ‘अर्को भोर’ सार्वजनिक गरिएको छ। साहित्यकार एवम् पूर्वसांसद नारायण ढकालले पुस्तक सार्वजनिक गर्दै विश्वको साहित्यिक नक्सामा नेपाल कतै नदेखिएकाले देखाउने जिम्मेवारी युवा पुस्ताका लेखकमा आएको बताए। नेपाली साहित्यलाई विश्व मानचित्रमा चिनाउन स्तरीय कृति अनुवाद हुनुपर्नेमा उनले जोड दिए। विश्वव्यापीकरणको वर्तमान सन्दर्भमा साहित्यकार जुन देशमा बसे पनि नेपाली साहित्य र संस्कृतिको सेवा गर्नसक्ने साहित्यकार ढकालको भनाई थियो।

समालोचक महेश पौडेलले नेपाली एवं अङ्गे्रजी साहित्यकै पठनपाठनमा लागेकाले मात्र साहित्य सिर्जना गर्नुपर्छ भन्ने मान्यता गलत सावित हुँदै गएको उल्लेख गर्नुहुँदै फरक पेसा र व्यवसायका मानिस साहित्यिक क्षेत्रमा आउँदा नयाँ विषय सिर्जनाका रुपमा पाठकसामु प्रस्तुत हुने बताए। ज्ञवालीको कथा ‘एक्वारियम’ लाई आफूले उत्कृष्ट कथाका रुपमा ठहर्याएको उनले सुनाए। समालोचक ज्ञानु अधिकारीले कथासङ्ग्रहले कथाको परम्परागत मान्यतालाई तोडेको उल्लेख गर्दै प्रसस्त उपकथा जोडिएको बताए। कथासङ्ग्रहमा धेरै कथा अमेरिकाका परिवेशमा लेखिएका छन्।

केही कथा भने नेपाल र खाडीमुलुकको सन्दर्भमा पनि लेखिएको उनले जानकारी गराए। नारी संवेदनालाई छानेर राखिएको कथामा यौन मनोविज्ञानको सङ्केत पनि रहेको समालोचक अधिकारीले सुनाए। गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइरालाजस्ता कथाकारलाई पछ्याउँदै ज्ञवाली नेपाली साहित्यमा ‘अर्को भोर’ बाट उदाएका हुन्। कार्यक्रममा लेखक ज्ञवाली र प्रकाशक संस्था शिखा बुक्सका पुष्पराज पौडेललगायतले कथासङ्ग्रह फरक स्वाद र पहिचानका साथ नेपाली कथा क्षेत्रमा आएको जानकारी गराएका थिए। कथासङ्ग्रहमा १४ वटा कथा छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×