म्याग्दीको पछैमा ‘रावण पार्क’ निर्माण शुरु

काठमाडौँ । म्याग्दीको पौराणिक स्थल पछैमा रावण पार्क (उद्यान) निर्माण शुरुआत भएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले वडा नम्बर ५ मा उद्यान निर्माण शुरु गरेको हो। वडा अध्यक्ष लक्ष्मण बानियाले ठेक्का पाएका निर्माण व्यवसायी उद्यान निर्माणका लागि परिचालन भएका जानकारी दिए। “परिकल्पना भएको एक दशकपछि रावण उद्यान योजना कार्यान्वयन शुरु भएको छ,” उनले भने, “रावणको मुर्ति बनाउनेसँगै पछैमा आएर प्रारम्भिक चरणको काम शुरु गरेका छन्।” रावण उद्यान बनाउन गत भदौमा काठमाडौँको धर्मा एस कास्यप जेभीले गत सोही महिनामा रु. एक करोड ७६ लाख ७७ हजार ५६३ मा ठेक्का सम्झौता गरेको थियो।

बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीका अनुसार ठेक्का प्रतिस्पर्धामा सबैभन्दा कम कबोलेको धर्मा एस कास्यप जेभीसँग सम्झौता भएको हो। “पर्यटन मन्त्रालयले रु. दुई करोड ११ लाख र नगरपालिकाले रु. एक करोड १४ लाख विनियोजन गरेर ठेक्का आह्वान गरेका थियौ,” उनले भने “पहिलो चरणमा रावणको मुर्ति, बगैँचा, विश्रामस्थल लगायतका पूर्वाधार तयार पार्न लागिएको हो।”

निर्माण कम्पनीका इञ्जिनियर सन्तोष ओझाले काठमाडौँमा रावणको मुर्ति तयार पार्ने काम भइरहेको जानकारी दिए। पछैमा उद्यानका अन्य संरचना बनाउन पनि शुरु गरेको उनले बताए। विसं २०७९ पुष महिनामा रावण उद्यान निर्माण गर्ने लक्ष्य राखिएको छ। चौध रोपनी क्षेत्रफलमा फैलिएको पुलह पुलत्स्य क्षेत्रको चार रोपनीमा सो उद्यान बनाउन लागएको हो।

रामायणको पाँचौ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ। पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा व्याख्या गरिएको छ। विसं २०६६ मा म्याग्दी उद्योग वाणिज्य संघका पूर्वाध्यक्ष प्रमोदकुमार श्रेष्ठ लगायतले धार्मिक पर्यटकलाई लक्षित गरेर बेनीमा उद्यान बनाउने योजनाको परिकल्पना गरेका हुन्।

हालको मन्दिर, हवन कुण्ड, रावणको नाबी गाडेको ठाउँलाई यथावत राखेर पूर्वाधार बनाइने भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×