बैतडी - अनुमतिबिना प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहेका छन्।
प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट पक्राउ गरिएको हो। उनले कानुन विपरीत जिल्लाको मुस्याचौर क्षेत्र र पुर्चौंडी क्षेत्रमा प्याराग्लाइडिङ गर्दै आएका थिए। प्याराग्लाइडिङ उडानका लागि अनुमति आवश्यक पर्ने भए पनि उनले बिनाअनुमति प्याराग्लाइडिङ गरेकाले पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।
जेल्नरसँग अष्ट्रियामा प्याराग्लाइडिङ गर्ने अनुमतिपत्र रहेको छ भने नेपालका लागि अनुमति नरहेको भारतीले बताए। मार्च ३० तारिखसम्म नेपालमा रहने पर्यटक प्रवेशाज्ञा रहेका उनलाई आवश्यक कारबाहीका लागि आज नागरिक उड्डयन कार्यालय, धनगढी पठाइएको छ।