काठमाडौँ - कमाइको आँकडालाई आधार मान्ने हो भने यो समय दक्षिण भारतीय (साउथ) फिल्म हिन्दीभाषी फिल्म उद्योग बलिउडमाथि हाबी छ।
यो वर्ष अहिलेसम्म साउथका २ फिल्म 'केजीएफ च्याप्टर २' र 'आरआरआर'ले हजार-हजार करोड भारुको कमाइ गरे। कार्तिक आर्यनको ‘भुलभुलैया २’ले केही हदसम्म बलिउडको नाक राख्यो।
बक्स अफिसमा पैसा छाप्ने अभिनेता मानिने अक्षय कुमार र अजय देवगणका फिल्म पनि असफल रहे। 'द कश्मीर फाइल्स'ले भने जादुमयी कमाइ गर्यो। यो प्रवृत्तिलाई अपवाद मानिएको छ। यसअघि बलिउडमा 'जय सन्तोषी माँ'ले पनि भारी कमाइ गरेको थियो।
सन् २०१९ सम्म बलिउडको रिभेन्यु ५ हजार २०० करोड रुपैयाँ थियो। जबकि दक्षिण भारतीय फिल्मको रिभेन्यु ४ हजार करोड थियो। कोरोनाकालपछि साउथ इण्डियाका पुष्पा, मास्टर, आरआरआरजस्ता फिल्म प्रदर्शन भए। सोही समय बलिउडका कुनै पनि फिल्मले बक्स अफिसमा कमाल देखाउन सकेनन्।
कोरोनापछि दक्षिण भारतीय फिल्मको कमाइ सन् २०२१ मा २ हजार ४०० करोड पुग्यो। बलिउडको कमाइमा गिरावट आएर ८०० करोड भारुमा खुम्चियो। ओरेम्याक्सको रिपोर्ट अनुसार सन् २०२२ को सुरुवाती ३ महिनामा तेलुगू फिल्मको बक्स अफिस आकार २९ प्रतिशत बढ्यो। जबकि बलिउडको सेयर जम्मा २७ प्रतिशत मात्र छ।
भारतमा बर्सेनि २६ भाषाका करिब १ हजार ९०० देखि २ हजारसम्म फिल्म निर्माण हुन्छन्। जसमा ५०० फिल्म हिन्दी भाषाका हुन्छन्। दोस्रो स्थानमा कन्नड फिल्म उद्योग रहेको छ। जहाँ करिब ३०० देखि ३५० फिल्म बन्छन्। तेलुगूमा २८० वटासम्म फिल्म बन्छन्। तेलुगूमा हिन्दीभन्दा कम फिल्म बन्छन्, तर रिभेन्यु हिन्दीभन्दा उच्च रहेको छ।
भारतको मनोरञ्जन करमा तमिल र तेलुगू फिल्मको योगदान ४० प्रतिशत छ। ‘बाहुबली २’ लाई भारतका १० करोड मानिसले हलमा पुगेर हेरेको उल्लेख छ। यसपछि ‘आरआरआर’ छ जसलाई ७ करोडले हेरेको जनाइएको छ। बलिउड फिल्म ‘थ्री इडियट्स’लाई ३.५ करोडले हेरेको बताइन्छ।