काठमाडौँ - नेपाली सेनाले सफा हिमाल अभियान–२०२२ सञ्चालन गरी सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालमा जम्मा भएको फोहोर सङ्कलन सुरु गरेको छ। नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालका अनुसार अभियान २०७८ चैत २२ गते सुरु भएको हो। अभियान २०७९ जेठमा सम्पन्न हुनेछ।
उनका अनुसार सफाइ अभियानअन्तर्गत चारवटा हिमाल सफाइमा सेनाका चार सेनानीको नेतृत्वमा टोली परिचालन भएका छन्। आठ हजारभन्दा अग्ला चार हिमालको सफाइ चुनौतीपूर्ण र साहसिक रहेकाले सेनाले विशेष तालिमप्राप्त तथा सगरमाथाको सफल आरोहण सम्पन्न गरेका अनुभवी अधिकृतलाई सफाइ अभियानको जिम्मेवारी दिएको छ।
सगरमाथा, ल्होत्से सफाइमा १२ जना र कञ्चनजङ्घा र मनास्लुमा नौ–नौ जना गरी ३० अनुभवी सेनालाई खटाइएको छ। यी फरक–फरक टोलीलाई नौजना हिमाल आरोही शेर्पाले समेत आवश्यक सहयोग तथा परामर्श दिनेछन्। अभियानमा सेनाका विशिष्ट चिकित्सक, प्राविधिक तथा सरोकारवाला निकाय गरी ९२ जना रहेका छन्। नेपाल सरकारले हिमाल सफा राख्ने अभियानअन्तर्गत सन् २०१९ देखि सफा हिमाल अभियान सुरु गरेको थियो। आजको गोरखापत्र दैनिकमा समाचार छ।