काठमाडौँ - युइएफए युरोपा लिगमा इंग्लिस क्लब आर्सनलले पहिलो हार व्यहोरेको छ। आर्सनल डच क्लब पिएसभी इन्डोभेनसँग २-० ल पराजित भएको हो।
घरेलु टोली पिएसभी इन्डोभेनको जितमा जोए भिरमन र लुक डि जोङले गोल गरेका थिए। फिलिस्प स्टेडियम इन्डोभेनमा बिहीबार राति भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।
खेलको ५६औं मिनेटमा जोए भिरमनले गोल गर्दै पिएसभीलाई १-० को अग्रता दिलाएका थिए। त्यसपछि ६३औं मिनेटमा लुक डि जोङले कोडी गाक्पोको पासमा गोल गर्दै आर्सनललाई २-० को हार चखाए। यसअघिको सबै ४ खेलमा आर्सनलले जित निकालेको थियो।
यस जितसँगै इन्डोभेन समूह ‘ए’ मा ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ। पराजित आर्सनल १२ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ।
यही समूहको अर्काे खेलमा एफसी जुरिचले बोडो ग्लिम्टलाई २-१ ले पराजित गरेको छ। यस पहिलो जित निकालेसँगै जुरिचले ५ खेलबाट ३ अंक जोडेको छ। टोली अझैपनि पुछारमा रहेको छ। पराजित बोडो ग्लिम्ट ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।