काठमाडौँ - हलिउडसहित विश्व फिल्ममा पछिल्लो समय एसियाली दबदबा बढ्न थालेको छ। ओस्कार अवार्ड, कान्ससहितका ठूला फिल्म फेस्टिभलमा पनि एसियाली वर्चस्व लोभलाग्दो छ।
यस्तोमा चिनियाँ मूलकी हलिउड निर्माता जेनेट योङ ओस्कार अवार्ड आयोजक संस्था एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजको अध्यक्षमा चुनिएकी छिन्। संस्थाका बोर्ड अफ डाइरेक्टरले जेनेटलाई अध्यक्षमा चुनेको हो। ओस्करको अध्यक्षमा चुनिने उनी पहिलो चिनियाँ र चौथो महिला हुन्।
‘जेनेट एकेडेमीमा सेवामा प्रतिबद्ध र रणनीतिक कौशल भएकी नेतृ हुन्,’ एकेडेमीका सीईओ बिल क्रेमरले भने, ‘फिल्म कलाको उत्सव मनाउन र आगामी पुस्तालाई प्रेरणा दिन उनको कार्यकाल महत्वपूर्ण हुने आशा लिएका छौं।’
हलिउडमा ओलिभर स्टोन र क्याथरिन बिगेलेसँग काम गरिसकेकी ६६ वर्षीया याङ स्थापित अनुहार हुन्। जोय लक क्लब, द पिपुल भर्सेस ल्यारी फ्लेन्ट र ओस्कारमा मनोनित ‘ओभर द मुन’मा योङले काम गरिसकेकी छिन्।
एकेडेमीको विधानअनुसार अध्यक्षको कार्यकाल १ वर्षको हुन्छ र ४ पटक भन्दा बढी लगातार अध्यक्ष हुन पाइँदैन। यसैबीच नेपालको ओस्कार कमिटीले पनि संयोजकमा निर्देशक विमल पौडेललाई नै चुनेको छ। उनी केही वर्षदेखि लगातार संयोजकमै छन्।