काठमाडौँ । आइतबारको बन्दसत्रमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरूलाई भनेका थिए । तर अध्यक्ष ओली आफै समयमा बन्दसत्रमा पुगेका छैनन्।
एमाले अध्यक्ष ओली यतिबेलासम्म पनि आफू बसेको पार्क सफारी रिसोर्टमै छन्। पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीलाई भेट्नमा उनी व्यस्त भइरहँदा ओलीलाई भेट्नेहरूको होटलमा भीड लागेको छ। उता बन्दसत्रको हलमा भने प्रतिनिधिहरू नेतृत्व चयनका लागि अध्यक्ष ओलीलाई पर्खिरहेका छन्। पदाधिकारी र केन्द्रीय सदस्यहरूका आकांक्षी धेरै भएपछि सहमतिमा पुग्ने प्रयास निरन्तर जारी छ। त्यसैले, पूर्वनिर्धारित समयमा बन्द सत्र सुरु हुन नसकेको ओली निकट नेताहरूले बताएका छन्।
ओलीले नेताहरूसँग समूहगत र एक्लाएक्लै छलफल गरिरहेका छन्। तर, अहिलेसम्म पदाधिकारीमै सहमति जुट्न सकिरहेको छैन। अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको अडान कायमै छ। वरिष्ठ उपाध्यक्ष र महासचिवमै सहमति गर्न सकस भएपछि ओलीले अध्यक्षमा उम्मेदवारी दिने अडानमा रहेका रावलसँग संवाद गर्न भ्याएका छैनन्। यद्यपि, उनीसँग पनि छलफल गर्ने तयारी भइरहेको एमाले नेताहरू बताउँछन्।