काठमाडौँ - मुकुन भुसाल र बेनिशा हमालको मुख्य भूमिका रहने फिल्म ‘बिजुली’ निर्माणको घोषणा भएको छ। निर्माताले फिल्मको दुई श्रृंखला बन्ने जानकारी दिंदै पहिलो च्याप्टरको टिजर पोस्टर सार्वजनिक गरेका छन्।
विकास गिरीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मको निर्माता लुना केसी हुनेछिन्। उनको यो डेब्यु निर्देशन रहनेछ।
बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको मुख्य भूमिकामा कालु राना पनि अनुबन्धित भएका छन्। अन्य कलाकार छनोट हुन बाँकी नै रहेको छ। हिन्दू धर्मग्रन्थहरु रामायण, महाभारत र भागवत गीतका चरित्रलाई समेटेर फिल्म बनाउन लागिएको हो। फिल्म सोसल ड्रामा जनरामा फिल्म निर्माण हुनेछ।
भदौ अन्तिम सातादेखि छायांकन सुरु हुने फिल्मको सुटिङ काठमाडौं, नेपालगञ्ज, बर्दिया र विदेशमा समेत हुनेछ। ‘फिल्मले दर्शकलाई भिन्न स्वाद दिनेछ। यो हिन्दू धर्मग्रन्थका पात्रको मोडर्न एडप्टेसन हो,’ भुसालले भने।
कथाअनुसार आफ्नो भूमिकाको लागि निकै नै मेहनत गर्नुपर्ने जरुरी रहेको अभिनेता भुसालले बताएका छन्। ‘मैले अहिलेसम्म गरेका फिल्मभन्दा यसमा भिन्न चरित्र छ,’ भुसालले भने, ‘आफ्नो चरित्रमा काम गर्न म निकै उत्साहित भएको छु।’ अभिनेत्री हमालले नयाँ र जोश जाँगर बोकेर नेपाली फिल्म क्षेत्रमा केही गरौं भनेर लागेको टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताएकी छिन्।