काठमाडौँ - म्याग्दीको बेनी–२ बगरफाँट नदी कटान नियन्त्रणका लागि बजेट व्यवस्थापन हुन नसक्दा सो गाउँ उच्च जोखिमको अवस्थामा पुगेको छ।
शिरानमा विशाल भिरबाट खस्ने पहिरो र पुछारमा म्याग्दी नदीको तीब्र कटानका कारण बेनी –२ बगरफाँट गाउँ उच्च जोखिममा पर्दै जान थालेको छ। वि.सं. २०५७ सालदेखि सो नदीले कटान गर्न सुरु गरेको बगरफाँटमा रहेका २०० घरधुरी वर्षाका समयमा गाउँको शिरानबाट खस्ने पहिरो र गाउँको पुछारमा उर्लिँदै बग्ने म्याग्दी नदीको कटानबाट बर्सेनि त्रसित हुने गरेका छन्।
जिल्ला नदीको कटान नियन्त्रणका लागि बर्सेनि नदी किनारमा ग्याबिन जाली भर्ने गरिएको भए पनि वर्षामा ढुङ्गा र लेदोसहित उर्लिएर आउने नदीको तीव्रगतिका कारण नियन्त्रण हुन नसकेको स्थानीयवासीले बताएका छन्। “गाउँ जोखिममा छ, शिरानबाट खस्ने पहिरो र पुछारमा बग्ने नदीका कारण वर्षामा कहिल्यै पनि ढुक्कसँग सुत्न सकिँदैन, कतिबेला के हुन्छ भन्ने त्रास सधैँभरि रहिरहन्छ”, म्याग्दी नदी कटान नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए।
सो नदीको कटानका कारण बगरफाँटको १५० रोपनी क्षेत्रफलभन्दा बढी खेतीयोग्य जमिन नास भइसकेको र नदी कटानको समस्या अझै विकराल बन्दै गएको उनको भनाइ छ। उनका अनुसार बेनी–३ को तारोखेतबाट बगेर बगरफाँटको शिरानमा अवस्थित विशाल पहरो हुँदै आउने पहिरो नियन्त्रण सम्भव नभए पनि नदी कटान नियन्त्रण गर्नसके केही मात्रामा भए पनि गाउँ सुरक्षित हुन्छ।
पहिरो र नदी कटानका कारण सुन्दरबस्ती र कृषि उपजका लागि उर्वर फाँट रहेको बगरफाँट बर्सेनि साँघुरिँदै जान थालेको छ। आप्रे र उडाइनो छहराको बीचबाट खस्ने पहिराका कारण गाउँको शिरानमा रहेको जङ्गल नासिँदै गएको छ भने बस्ती मासिँदै गएको छ। पहिराले गाउँ कुरूप बन्दै जान थालेको र शिरानका पाँच घर परिवारले आफ्नो घर नै छाडेर बसाइँ सरिसकेका स्थानीयवासी कृष्ण रिजालले बताए।
सिङ्गा तातोपानीको सरस्वती मावि र ज्वालामाई भगवती आमा समूहको भवनसमेत कटानका जोखिममा छ। तत्कालै नियन्त्रणको काम सुरु नगरे आउने बर्खामा सो नदीमा आउने बाढीले थप क्षति गर्ने खतरा रहेको जनाइएको छ। सो विद्यालयका प्रधानाध्यापक सुरत बानियाँले नदी नियन्त्रण योजनाका लागि बजेट व्यवस्थापन गर्न ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयमा जाने तयारी भएको जानकारी दिए।