काठमाडौँ । इलाम बजार आउँदै हुनुहुन्छ ? आउँदै हुनुहुन्छ भने तपाईँलाई इलामचोक बजारमा राखिएको चिया टिप्दै गरेको मूर्तिले स्वागत गर्नेछ। यसका लागि इलाम नगरपालिकाले चिया टिप्दै गरेको मूर्ति निर्माण गरी स्थापना गरेको छ।
चियाको बोटबाट चिया टिपेर थुन्सेमा लगाउँदै गरेको झैँ देखिने मूर्ति यहाँको पहिचान भएको नगरपालिकाले जनाएको छ। मूर्तिलाई सदरमुकामस्थित इलामचोकमा राखिएको छ। झापा हुँदै मेची राजमार्ग भएर आउने पाहुनालाई लक्षित गरेर निर्माण गरिएको मूर्ति जिल्लाको संस्कृतिको प्रवर्द्धन काशेढुङ्गाका रुपमा काम गर्ने जनाइएको छ। अढाइ सय किलोको सो मूर्ति चर्चित मूर्तिकार विष्णु श्रेष्ठले बनाएका हुन्। जिल्लामा चिया बगान स्थापना गर्ने गजराज सिंह थापा र शङ्खधर साँख्वाको मूर्तिसमेत उहाँले नै निर्माण गर्नु भएको बताइएको छ।
विक्रम सम्बत १९२० मा इलामका बडाहाकिम गजराज सिंह थापाले चिया रोपन सुरु गरेको इतिहास छ। विसं १९३५ मा बगान रहेको स्थानमा इलाम चिया कारखाना स्थापना गरिएको थियो। इलाम नगरपालिका–७ मा रहेको नेपालको पुरानो चिया बगान र चिया कारखानामा काम गर्ने मजदूरको सम्मानमा इलाम नगरपालिकाले महिला चिया मजदूरको मूर्ति स्थापना गरेको जनाएको छ।
श्रम र श्रमजीवी व्यक्ति समाजका निमार्णकता, समृद्धिका सम्वाहक भएकाले उनीहरूको माध्यमबाट मात्रै यो ठाउँलाई समृद्ध बनाउन सकिने इलाम नगर प्रमुख महेश बस्नेतको भनाइ छ। मजदूरको जीवनस्तर उकास्न र उनीहरूको काममा समेत प्रतिष्ठा बढाउन सरकार लाग्नुपर्ने भन्ने सन्देशका साथ मजदूरको मूर्ति चोकमा स्थापना गरिएको इलाम – ७ का वडाध्यक्ष नरेश श्रेष्ठको भनाइ छ। उनले गणतन्त्र केवल शब्दमा मात्रै नभइ व्यवहारमा पनि आएको जनाउँदै तत्कालीन राजाको शालिक रहने स्थानमा चिया मजदूरको सालिक निमार्ण गर्न सकिएको बताए।
इलाम नगरको सौन्दर्यीकरण बढाउन नगरपालिकाले विभिन्न राष्ट्रिय विभूति र अन्य चर्चित व्यक्तित्वको मूर्ति स्थापना गरेको छ। विभिन्न चोक तथा घुम्तीमा मूर्ति निर्माण गरिएको छ। कला र संस्कृति गजेर्ना गर्दै अरुलाई पनि प्रेरणा मिलोस भन्ने उद्देश्यले बजारका विभिन्न स्थानमा मूर्ति र प्रतिमा स्थापना गरिएको नगरपालिकाले जनाएको छ। नगरको सौन्दर्यीकरणका लागि देशका ख्यातिप्राप्त व्यक्तित्वको सालिक स्थापनामा जोड दिइएको नगर प्रमुख महेश बस्नेत जानकारी दिए।
यस सालिक भएको स्थानमा पहिला राजाको सालिक थियो । गणतन्त्र घोषणापछि सालिक हटाइएको थियो।