काठमाडौँ - गायिका तथा समाजसेवी आनी छोइङ डोल्माले ६ वर्षपछि सांगीतिक कन्सर्ट गर्ने भएकी छिन्। ‘हिल द अर्थ’ नाम दिइएको कन्सर्ट यही २५ जुनमा साढे ४ बजे जावलाखेलमा रहेको सेन्ट मेरी माविमा हुन लागेको हो।
बुधबार लाजिम्पाटस्थित माइक्स रेष्टुरेन्ट एण्ड बारमा पत्रकार सम्मेलनको आयोजना गर्दै मनोज सिंह, सञ्जय श्रेष्ठ (१९७४ एडी), गोपाल रसाइली, प्रज्वल लामा र एल.बोनी चक्रवर्ती पनि कन्सर्टको टिममा रहेको फाउन्डेसनले जनाएको हो।
अहिले महामारी र द्वन्द्वको प्रभावका कारण मानिसलाई आन्तरिक उपचार चाहिएकाले सकारात्मक सन्देश प्रवाहका लागि सांगीतिक कन्सर्ट गर्न लागिएको गायिका डोल्माले बताएकी छिन्।
‘हामी सबै विश्वव्यापी महामारी, उथलपुथल र द्वन्द्वको प्रभावसँग जुधिरहेका छौं र हामी सबैलाई आन्तरिक उपचार चाहिएको छ। यस विशेष कार्यक्रममार्फत हामीले यो सन्देश पठाउने लक्ष्य राखेका छौं कि आशा र दयाले हामीलाई हाम्रो भित्री आत्मासँग पुनः जोड्न मद्दत गर्नेछ,’ उनले भनिन्।
कन्सर्टको लागि अनलाइन टिकट इसेवाबाट काट्न सकिने फाउन्डसेनले जनाएको छ। कन्सर्टको आम्दानी आनीको फाउन्डेसनबाट आगलागी पीडितहरूलाई सहयोग गरिने बताइएको छ।