घरेलु टोली श्रीलंकामाथि अफगानिस्तानको सानदार जित

काठमाडौँ - अफगानिस्तानले पहिलो ओडिआई खेलमा घरेलु टोली श्रीलंकामाथि ६० रनको सानदार जित हात पारेको छ। योसँगै ३ ओडिआई खेलको सिरिजमा अफगानिस्तानले १-० को अग्रता लिएको छ।

जितको लागि २ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका ३८ ओभरमा २ सय ३४ रनमा अल आउट भयो। श्रीलंकाका ओपनर पाथुम निसांकाले ८३ बलमा १० चौकासहित सर्वाधिक ८५ रन बनाएका थिए। निसांका तीव्र गतिका बलर फजलहक फारुकीको बलमा बोल्ड भए।

तल्लोक्रमका वानिन्दु हसरंगाले ४६ बलमा १० चौका र २ छक्कासहित ६६ रनको योगदान दिएका थिए। उनी पनि फारुकीको बलमा बोल्ड भए। अन्य कुनैपनी श्रीलंका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन । कुशल मेन्डिस १, दीनेश चान्डिमल १४, धनन्जय डि सिल्भा १६, चारिथ असंलका १० र दासुन शनकाले १६ रन बनाएका थिए।

अफगानिस्तानका तीव्र गतिका बलर फजलहक फारुकीले ९ ओभरमा ४९ रन खर्चेर ४ विकेट लिए। गुलबदीन नाइबले ८ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए। यमिन अहमदजाईले ६ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए। राशिद खानले एक विकेट लिएका थिए।

त्यसअघि पक्लेकेलेमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९४ रन बनाएको थियो। अफगानिस्तानका ओपनर इब्राहिम जद्रानले १ सय २० बलमा ११ चौकासहित सर्वाधिक १ सय ६ रनको शतकीय इनिङ खेलेका थिए।

विकेटकिपर रहमानउल्लाह गुरबाज ५५ बलमा ९ चौकासहित ५३ रनमा आउट भएका थिए। पहिलो विकेटका लागि गुरबाज र जद्रानले १४.४ ओभरमा ८४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। रहमात शाह ६४ बलमा २ चौकासहित ५२, नाजिबउल्लाह जद्रान ४२ र गुलबदीन २२ रनमा आउट भएका थिए।

श्रीलंका स्पिनर वानिन्दु हसरंगाले सर्वाधिक २ विकेट लिएका थिए। कसुन रजिथा, धनन्जय डि सिल्भा, लाहिरु कुमारा र महेश थिक्सनाले समान १ विकेट लिएका थिए। दोस्रो खेल आइतबार र तेस्रो खेल बुधबार हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×