काठमाडौं - श्रमजिवी स्वरोजगार सडक व्यापारी नागरिकका मानव अधिकारको सम्मान र संरक्षण गर्न अधिकारकर्मीहरूले अपिल गरेका छन् । अपिलमा काठमाडौँ महानगरको जननिर्वाचित नागरिक नेतृत्वले धैर्यताकासाथ संवादको माध्यमले समस्याको समाधान गर्ने प्रयास गर्नुको साटो महानगर प्रहरी परिचालन गरी अत्यधिक बल प्रयोग गरेर केही सडक व्यापारीलाई गम्भीर घाइते बनाएको र उनीहरूको सामान लुटपाटको शैलीमा जफत गरेको घटनाप्रति खेद व्यक्त गरिएको छ ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालसहितका अधिकारकर्मीद्वारा फागुन १७ गते जारी अपिलमा सडक तथा सार्वजनिक स्थलमा नागरिकमाथि कुटपिट गर्ने अपराधिक कार्यमा संलग्न जोसुकैलाई कानुनी कारबाहीको दायरमा ल्याउन नेपाल प्रहरी र महानगर प्रशासन लगायत सम्बन्धित सबै निकायसँग माग गरिएको छ ।