काठमाडौँ - अहिले फिल्म उद्योगमा सबैभन्दा धेरै चर्चा भएका कलाकार हुन् प्रदीप खड्का। उनका २ फिल्म एक साताको फरकमा प्रदर्शन हुँदैछन्। दुवै फिल्म उद्योगले आशा गरेका फिल्म हुन्।
उनले अभिनय गरेका ‘प्रेम गीत ३’ र ‘प्रकाश’ रिलिजको तयारीमा छन्। ‘प्रेम गीत ३’ले प्रदीपको राम्रै ब्रान्डिङ गरिरहेको छ। यसको फाइदा उनको अर्को फिल्म ‘प्रकाशलाई पनि पुग्ने फिल्म निर्माता महेन्द्र अधिकारीले बताएका छन्।
कलाकारको ब्रान्डिङ हुनुले उनले अभिनय गरेका र प्रदर्शनको तयारीमा रहेका सबै चलचित्रलाई फाइदा हुने अधिकारीको भनाइ छ। फिल्म उद्योगमा ‘प्रकाश’को भन्दा ‘प्रेम गीत ३’को चर्चा धेरै रहेको छ। प्रदीप पनि यहि फिल्मको प्रचारमा धेरै देखिएका छन्।
त्यसैले निर्माता अधिकारीलाई ‘प्रकाश’ ओझेलमा परेन भनेर गरिएको प्रश्नमा उनले भने ‘प्रदीप जुनसुकै फिल्मको प्रचारमा हिँडे पनि त्यसको फाइदा उनको पहिलो फिल्ममा पुग्छ।’ उनले प्रदीप ‘प्रेम गीत ३’को प्रचारमा पुगेको ठाउँमा ‘प्रकाश’को पनि प्रचार गरेको बताएका छन्।
अहिले प्रदीपको नेपालमा मात्रै नभएर भारतमा पनि ब्रान्डिङ भैरहेको छ। उनले अभिनय गरेको ‘प्रेम गीत ३’भारतमा पनि रिलिज हुँदैछ। हरेक फिल्म सफल हुनु पर्ने तर्क गर्दै निर्माता अधिकारीले एकले अर्कोको फिल्मका लागि सहयोग गर्न तयार रहेको बताएका छन्।
‘प्रकाश’ यही भदौ १० गते रिलिज हुँदै छ। यो फिल्ममा प्रदीपका साथमा दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायतका कलाकारले अभिनय गरेका छन्।