साउदी। यमनको मध्य क्षेत्रीय प्रान्त मारिब र यससँगैको अर्को प्रान्तमा शनिबार साउदी अरेबिया नेतृत्वको सैन्य समूहले हवाई कारबाही जारी राखेको बताइएको छ। प्राप्त समाचारअनुसार उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १९० जना हुथी विद्रोहीहरुको ज्यान गएको साउदी अेरिबयाको सरकारी प्रेसले जनाएको छ। यहाँ १९० जना मारिएका र अरु कैयौँ घाइते भएका यमनको सरकारी सेनाले पनि शनिबार राति पुष्टी गरेको जानकारी दिएका छन्। यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगतदेखि नै हुथीका विरुद्धमा कारबाही गर्दै आएको छ। उक्त सैन्य समूहमा यमनी सेना पनि रहने गर्दछन्। मारिब क्षेत्रमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो। साउदी प्रेसका अनुसार यहाँको सेनाले शनिबार गएको २४ घन्टाभित्रमा कम्तीमा पनि ३६ ओटा साना ठूला आक्रमणहरु गरेको पाइएको छ। उक्त हवाई आक्रमणमा १९० जना हुथी विद्रोही मारिएका र त्यस कारबाहीका क्रममा अरु केही घाइते भएका पनि बताइएको छ। शनिबारको सो आक्रमणका क्रममा हुथी विद्रोहीहरुका कम्तीमा पनि २० ओटा आश्रयस्थल नै ध्वस्त पारिदिएको बताइएको छ। उक्त प्रान्तमा यसअघि पनि समयसमयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको पनि बताइएको समाचारमा उल्लेख गरिएको छ। साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ। यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन्। यस पछिल्लो कारबाहीका क्रममा हुथीहरुले प्रयोग गर्ने गरेका केही शक्तिशाली हतियारहरु पनि पक्राउ गरिएको समाचारमा जनाइएको छ।