काठमाडौँ - स्पानिस टेनिस स्टार राफायल नाडालले चोटका कारण बेलायतमा भइरहेको विम्बल्डन ओपनबाट नाम फिर्ता लिएका छन्। उनले सेमिफाइनलमा अस्ट्रेलियाका निक किर्गियोससँग खेल्ने तालिका थियो।
२२ पटकका ग्रान्डस्लाम विजेता नाडालले आफूले निकै प्रयास गरे पनि सेमिफाइनलमा खेल्न असफल भएको र यसले निकै चिन्तित बनाएको बताएका छन्।
नाडालले यसै वर्ष अस्ट्रेलियन र फ्रेन्च ओपनको उपाधि जितिसकेका छन्। निकले भने अब उपाधिको लागि पर्सि आइतवार नोभाक जोकोभिच वा क्यामरुन नोरीसँग खेल्नेछन्।
३६ वर्षीय नाडालले टेलर फिट्ज विरुद्धको ५ सेट चलेको क्वाटरफाइनलमा पनि खेलका दौरान उपचार गराएका थिए।
तर आफ्नो स्वास्थ्य भन्दा खुशी कुनै उपाधिमा नभएको भन्दै नाडालले सेमिफाइनल अघि नाम फिर्ता लिएका हुन्। उनले भने, ‘मैले करियरमा धेरै पटक निरन्तरता दिने प्रयास गरेको छु तर चोट झन् बढ्दै जाने स्पष्ट छ।’ पेटको मसल्स च्यातिएकोले बाँकी २ खेल खेल्ने नसक्ने नाडालले बताएका छन्।