काठमाडौं - साविक विजेता म्यानचेस्टर युनाइटेड र लिभरपुल दुबैले शनिबारको खेल जितेपछि इङ्लिस प्रिमियर लिगको उपाधि होड अझै रोमाञ्चक बन्दै गएको छ। लिगमा अब १२ अंकको खेल बाँकी छ। सिटी र लिभरपुलको दुरी एक अंकको मात्र छ।
शनिबार राति लिभरपुलले न्युक्यासलाई १–० ले हरायो। च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेगमा भियारियालविरुद्ध खेल्न लागेको लिभरपुलले केही खेलाडीलाई आराम दिएको थियो। तर, महत्त्पूर्ण तीन अंक जोड्न सफल भयो। र शीर्ष स्थानमा उक्लियो। लिभरपुल चार घन्टामात्र शीर्ष स्थानमा रहन सक्यो।
लगत्तै भएको अर्को खेलमा सिटीले लिड्सलाई ४–० ले हराउँदै पुनः शीर्ष स्थानमा उक्लियो। सिटीले लिभरपुललाई एक अंकले पछाडि पार्यो। सिटीले ३४ खेलबाट ८३ अंक जोडेको छ भने लिभरपुलले समान खेलबाट ८२ अंक जोडेको छ।
‘‘हामीले आज गोल अन्तर पनि बढाएका छौं,’’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘‘मलाई थाहा छैन यसको फाइदा हुन्छ की हुदैन तर, यसमा पनि हामी अगाडि हुनुपर्छ। हामीसँग एकमात्र विकल्प छ। त्यो हो जित्ने र च्याम्पियन बन्ने। बराबरी खेल्यौं भने लिभरपुल च्याम्पियन हुनेछ।’’
सिटीले १३औं मिनेटमै रोड्रीको गोलबाट अग्रता लिएको थियो। ५४औं मिनेटमा नाथन एकेले अग्रता दोब्बर बनाए। ७८औं मिनेटमा गाब्रियल जिससले तेस्रो गोल गरे भने इन्जुरी समयमा फर्नान्डिन्होले चौथो गोल थपे।
सिटी र लिभरपुल दुबै च्याम्पियन्स लिग सेमीफाइनल दोस्रो लेग खेल्नका लागि स्पेनको भ्रमणमा निस्कदैछन्। सिटीले स्पेनिस ला लिगा विजेता रियाल मड्रिडविरुद्ध खेल्नेछ। लिभरपुलले भियारियालविरुद्ध खेल्नेछ। सिटीले पहिलो लेग ४–३ ले जितेको थियो भने लिभरपुल २–० ले विजयी भएको थियो।
न्युक्यासलविरुद्ध लिभरपुललाई जिताउन १९औं मिनेटमा नाबी केइटाले गरेको गोल निर्णायक बन्यो।
अन्य खेलमा एष्टन भिल्लाले नर्विच सिटीलाई २–० ले हरायो। हारसँगै नर्विच रेलिगेशनमा परेको छ। क्रिष्टल प्यालेसलले साउथह्याम्पटनलाई २–१ ले हरायो बर्नलीले वाटफोर्डलाई २–१ ले हरायो भने ब्राइटनले उल्भरह्याम्पटनलाई ३–० ले पराजित गर्यो।