काठमाडौँ - अन्तिम मिनेटमा निगो मार्टिनेजले गोल गरेपछि स्पेन आइतबार राति यूईएफए नेसन्स लिगमा चेक गणतन्त्रसँग २–२ को बराबरीमा रोकिएको छ। घरेलु टोली चेक गणतन्त्रले चौथो मिनेटमै जाकुब पेसेकको गोलबाट अग्रता लिएको थियो।
पहिलो हाफको अन्तिम मिनेटमा स्पेनका पाब्लो गाबीले बराबरी गोल फर्काएका थिए। बार्सिलोनाका १७ वर्षे मिडफिल्डर गाभीले आठ अन्तर्राष्ट्रिय खेलमा स्पेनका लागि पहिलो गोल गरेका हुन्।
चेक गणतन्त्रले ६६औं मिनेटमा जान कुच्ताको गोलबाट पुनः अग्रता लिएको थियो। तर, ९०औं मिनेटमा मार्टिनेजले गोल गरेपछि स्पेन हारबाट जोगिएको हो। एथलेटिक बिल्बाओको रक्षक मार्टिनेजले मार्को असेन्सियोको पासलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए। जुन क्रसबारमा लागेर गोल भएको थियो।
बराबरीसँग चेक गणतन्त्रले यूईएफए नेसन्स लिग ‘ए’ समूह–२ को शीर्ष स्थानमा रहने मौका गुमाएको छ।
गएराति नै स्विट्जरल्यान्डमाथि ४–० को विजय हासिल गरेको पोर्चुगल शीर्ष स्थानमा हुँदा समान चार अंक जोडेको चेक गणतन्त्र दोस्रो स्थानमा रहेको छ। दुई अंक जोडेको स्पेन तेस्रो स्थानमा रहेको छ। अंकबिहीन स्विट्जरल्यान्ड चौथो स्थानमा रहेको छ।
पोर्चुगलले पहिलो खेलमा स्पेनसँग १–१ को बराबरी खेलेको थियो। स्विट्रल्यान्ड पहिलो खेलमा चेक गणतन्त्रसँग २–१ ले पराजित भएको थियो।