काठमाडौँ - अभिनेता अनुप बरालले काठमाडौंमा नयाँ नाटकघर सञ्चालनमा ल्याएका छन्। गौशाला पिंगलास्थानमा खोलिएको सत्यमोहन जोशी स्टुडियो थिएटरमा बरालकै एक्टर्स स्टुडियोले नयाँ नाटक ‘कथा कस्तुरी’ पनि मञ्चन थालेको छ।
बिहीबारदेखि उक्त नाटकघरमा दीया मास्केद्वारा निर्देशित सर्पदंशमा आधारित उक्त नाटक मञ्चन भएको छ। नाटकमा एक्टर्स स्टुडियोका कलाकारहरु प्रभाव शाही ठकुरी, आयुष्मा मगर, सन्देश बम, राजन पुरी, जीवन गौतम, प्रेमप्रकाश केसी लगायतले अभिनय रहेको छ।
नाटकमा तराई क्षेत्रमा बसोबास गर्ने सपेरा जातिको कथावस्तुलाई चित्रण गरिएको छ। सपेरा जीवनको मिठास र जटिलतालाई प्रस्तुत गरिएको नाटकमा राजनीतिलाई व्यंग्य पनि गरिएको छ।
आख्यानकार नयनराज पाण्डेको कथा सर्पदंशको नाट्य रुपान्तरण गरिएको हो। उक्त नाटक असार ५ गतेसम्म मञ्चन हुनेछ। थिएटर नेपाल फिल्म्स क्याम्पस र एक्टर्स स्टुडियोले नाटकघर सञ्चालनमा ल्याएका हुन्।