भारतका दक्षिण मुम्बई, केरला र कर्नाटकमा अत्यधिक वर्षाका कारण प्रभावित बन्न थालेका छन् । मौसम विभागका अनुसार सोमबारबाट केही स्थानमा अत्यधिक वर्षा सुरु भएसँगै कैयन स्थानमा जनजीवन प्रभावित बन्न थालेको छ ।
सोमबार मुम्बईका केही स्थानमा भूमिगत रेल सेवा नै प्रभावित भएको थियो । मंगलबार पनि बिहानैदेखि कर्नाटकमा केही जिल्लामा अत्यधिक वर्षाका कारण जनजीवन प्रभावित बन्न थालेका खबर सार्वजनिक भएका छन् ।
मंगलबार हासन जिल्लाका विभिन्न भागमा भीषण वर्षा भएको र नेसनल हाइवेका केही स्थानमा पहिरोका कारण सवारी साधनहरूको आवागमन प्रभावित भएको भारतीय सञ्चारमाध्यम दि हिन्दुले लेखेको छ ।दि हिन्दुले भारत मौसम विज्ञान विभागलाई उदृत गर्दै दक्षिण मुम्बईमा सोमबार बिहान ११ बजेसम्मको १३ घन्टामा मात्रै २५० मिमीभन्दा बढी वर्षाको मापन भएको उल्लेख गरेको छ ।
सोमबार मुम्बईमा भारी वर्षा भएपछि मनसुनको सुरुवात भएको घोषणा गरिएको छ । भारी वर्षाका कारण केरला सबैभन्दा धेरै प्रभावित बनेको छ । केरला मुख्यमन्त्री कार्यालयका अनुसार मनसुनका कारण हालसम्म केरलामा चार जनाको ज्यान गएको छ । कर्नाटकको तटीय क्षेत्रमा भने आगामी पाँच दिनका लागि उच्चस्तरको सतर्कताको सूचना जारी गरिएको छ ।
भारतीय राष्ट्रिय महासागर सूचना सेवा केन्द्र (ईएसएसओ) ले गोवा, कर्नाटक, महाराष्ट्र र केरला तटीय क्षेत्रमा उच्च छाल आउन सक्ने भन्दै चेतावनी जारी गरेको छ । ईएसएसओले तटीय क्षेत्रमा हुने मनोरञ्जनात्मक गतिविधिहरू अस्थायी रूपमा स्थगन गर्नसमेत आह्वान गरेको छ ।
मौसम विज्ञान विभाग मौसम बदलीसँगै सर्तकता स्तर हेरेर रेड, अरेन्ज र यल्लो अलर्टहरु जारी गर्ने गरेको छ । विभागले आगामी शुक्रबार र शनिबारका लागि दिल्लीमा यल्लो अलर्ट जारी गरेको छ ।