काठमाडौँ - इंग्ल्यान्डको काउन्ट्री सेकेन्ड ११ च्याम्पियनसिप प्रतियोगितामा योर्कशायर सकेन्ड ११ बाट २० वर्षीय युवा विकेटकिपर ब्याटर फिनले बीनले नटिङ्घमशायरविरुद्ध ४ सय ४१ रनको सानदार ब्याटिङ गरेका छन्।
बीनले ५ सय १८ बलमा ५२ चौका र ३ छक्कासहित ४ सय ४१ रनको सानदार ब्याटिङ गरेका हुन्। उनको उक्त ब्याटिङको सहयोगमा पहिलो इनिङमा योर्कशायरले ८१४-७ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो।
काउन्ट्री सेकेन्ड ११ को इतिहासमा एक ब्याटरले बनाएको उच्च प्रदर्शन हो। यसअघि २५ वर्षअघि मार्कस ट्रेस्कोथिकले ३ सय २२ रनको इनिङ खेलेका थिए। यस प्रतियोगिता इतिहासमै पहिलो पटक ८ सय माथिको योगफल बनेको हो।
नटिङ्घमशायरले पहिलो इनिङमा ५ सय ३४ रनमा अल आउट भएको थियो। दोस्रो इनिङमा २६९/५ को अवस्थामा खेल बराबरीमा सकिएको थियो।
बायाँ हाते विकेटकिपर बीनले २०१९ मा इंग्ल्यान्डको यू-१९ टोलीबाट खेलि सकेका छन्। यू-१९ टोलीमा अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेपछि उनी विश्वकप यू-१९ टोलीबाट बाहिरिएका थिए।