काठमाडौँ - युरोपियन क्लब स्तरको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिग आजबाट सुरु हुँदैछ। आज, चेल्सी, म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन (पिएसजी), साविक विजेता रियाल मड्रिड जस्ता ठूला क्लब मैदान उत्रदैछन्।
नेपाली समयअनुसार राति साढे १० बजेबाट २ खेल हुँदैछन्। समूह ‘इ’ अन्तर्गत स्टेडियन माक्सिमीमा हुने खेलमा इंग्लिस क्लब चेल्सीले घरेलु टोली क्रोएसियाको डिनामो जागे्रबेको सामना गर्दैछ।
समूह ‘जी’ को जर्मन क्लब बोरुसिया डर्टमण्ड घरेलु मैदान सिंगल इडुना पार्कमा डेनिस क्लब एफसी कोपेनहेगनसँग खेल्दैछ। राति पौन १ बजेबाट एकैसाथ ६ खेल हुँदैछन्। समूह ‘एच’ पोचुगिज क्लब बेन्फिकाले घरेलु मैदान स्टेडियो डा लुजमा इजरायलको एफसी माकाबी हाइफाको सामना गर्नेछ।
सोही समूहको अर्को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएजी) घरेलु मैदान पार्क डेस प्रिन्सेसमा इटालीको युभेन्टससँग भिड्ने छ। समूह ‘इ’ अन्तर्गत रोडबुल एरिनामा हुने खेलमा इटालीको एसी मिलानले घरेलु टोली अस्ट्रियन क्लब आरबी साल्जबर्गसँग खेल्नेछ।
समूह ‘जी’ को स्पेनिस क्लब सेभियाले घरेलु मैदान रामोन साञ्चेज पिज्जुआन स्टेडियमा इंग्लिस क्लब म्याचेस्टर सिटीको सामना गर्दैछ। साविक विजेता रियाल मड्रिडले स्कटल्याण्डको सेल्टिक एफसीसँग खेल्दै उपाधि रक्षा अभियानको थालनी गर्दैछ। समूह ‘एफ’ अन्तर्गतको उक्त खेल सेल्टिक पार्कमा हुनेछ।
सोहि समूहको अर्को खेलमा जर्मन क्लब आरबी लेइप्जिगले घरेलु मैदानमा युक्रेनी क्लब शाख्तर डोनेट्स्कसँग प्रतिस्पर्धा गर्दैछ।