काठमाडौँ - भेडाबाख्रालाई लाग्ने ‘पिपिआर रोग’ नियन्त्रणका लागि चितवनमा खोप लगाउन सुरुआत गरिएको छ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका सात पालिकामा एकै पटक अभियानका रूपमा खोप लगाउन थालेको हो। चौवालीस स्थानमा खोप केन्द्र तय गरी खोप लगाउन सुरु गरिएको कार्यालयका निमित्त प्रमुख प्रभात न्यौपानेले जानकारी दिए। उनका अनुसार जिल्लामा रहेका तीन लाख भेडाबाख्रा मध्ये १ लाख २७ हजारलाई खोप लगाइनेछ। कार्यालयले यही माघ २५ गते मङ्गलबारदेखि फागुन २ गतेसम्म खोप अभियानका रूपमा कार्यक्रम सञ्चालन गरेको उनले जानकारी दिए। प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा एकै पटक खोप अभियान सञ्चालन गरेको हो।
यो रोगले एकै खोरमा धेरै क्षति पुर्याउने जनाइएको छ। उनले भने, “सप्ताहव्यापी अभियानमा खोपमा सहभागी हुन किसानलाई आग्रह गछौँ।” विज्ञ केन्द्र, पशु सेवा केन्द्र, स्थानीय तहका पशुसेवा शाखामा सम्पर्क गर्न उनले अनुरोध गरे। बीसभन्दा बढी भेडाबाख्रा हुने किसानले जानकारी गराए खोरमै पुगेर खोप लगाइनेछ। यो खोप निःशुल्क लगाइने उहाँले राससलाई जानकारी दिए।
भरतपुर महानगरका पशुसेवा केन्द्रमा राखिएका ८ खोप केन्द्रमार्फत खोप लगाइनेछ। यसका लागि रत्ननगरमा तीन, कालिकामा चार, राप्तीमा पाँच, माडीमा नौ र खैरहनी नगरपालिकामा १२ खोप केन्द्र मार्फत खोप सेवा सुरु गरिएको हो। यसैगरी, इच्छाकामना गाउँपालिकामा तीन खोप केन्द्र तय गरिएको छ।