गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव पुसमा

बागलुङ। गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव’ आगामी पुस १५ देखि २६ गतेसम्म गलकोट नगरपालिका–६ मजुवा फाँटमा हुने भएको छ। ‘ड्रिम टिम गलकोट’को आयोजनामा हुने महोत्सवको तयारी अगाडि बढाइएको संस्थाका अध्यक्ष रुपक पाण्डेले बताए। १२ दिनसम्म चल्ने महोत्सवमा खुला भलिबल प्रतियोगिता, गलकोट डान्स आइडल–२०७८, रत्यौली, माछा छोप्ने (हत्केला खेल्ने), दौड, ब्याडमिन्टन, टेबुलटेनिसलगायत प्रतियोगिता हुनेछन्। महोत्सवमा मौलिक कला, संस्कृतिको प्रदर्शन, रमाइलो मेला र साङ्गीतिक कार्यक्रम पनि हुने उनले जानकारी दिए। “महोत्सव सफल पार्न स्थानीय प्रशासन, राजनीतिक दल, सङ्घसंस्थादेखि सबै पक्षसँग समन्वय गरिरहेका छौँ”, उनले भने। कोरोना सङ्क्रमण मत्थर भएको र दुई वर्षदेखि गलकोटमा खेल, कला र मनोरञ्जनका गतिविधि नभएकाले महोत्सव आयोजना गरिएको ड्रिम टिम गलकोटले जनाएको छ। महोत्सवबाट खेल, कला, संस्कृतिसँगै व्यापार प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास आयोजकको छ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारको साङ्गीतिक प्रस्तुति पनि रहने जनाइएको छ। यसअघि पनि गलकोट उद्योग वाणिज्य सङ्घ, गलकोट घुम्टे पर्यटन विकास केन्द्रलगायतका सङ्घसंस्थाले गलकोटमा मेला, महोत्सवको आयोजना गर्दै आएका थिए। कोरोना महामारीका कारण दुई वर्षदेखि त्यस्ता कार्यक्रम रोकिन पुगेका थिए। अहिले कोरोना सङ्क्रमण दर न्यून रहेको र कोरोनाविरुद्ध खोपको पहुँच पनि बढ्दै गएकाले सार्वजनिक समारोह, मेला तथा महोत्सव हुन थालेका हुन्। गत हप्ता बडिगाड गाउँपालिकामा परम्परागत न्वागी मेलाको आयोजना गरिएको थियो। त्यसअघि ताराखोला गाउँपालिकामा भुस पोल्ने पर्व, हरिबोधनी एकादशी मेलालगायत कार्यक्रम भएका थिए। जनस्वास्थ्यकर्मीले भने कोरोनाको जोखिम कामयै रहेकाले भिडभाडजन्य गतिविधि गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न नहिच्किचाउन सचेत गराउँदै आएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×