काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका कार्यालयले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ।
डेढ वर्षअघिदेखिको निरन्तर प्रयासपछि हालै एम्बुलेन्स आइपुगेको हो। गाउँपालिकाले आर्थिक वर्ष ०७७-०७८ मा एम्बुलेन्स खरिदका लागि बजेट निकासा गरे पनि कोरोनाका कारण ल्याउन ढिला भएको थियो। असी वर्ष नाघेका नागरिकलाई निःशुल्क, ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट र अन्यलाई सहुलियत दरमा एम्बुलेन्स उपलब्ध गराउने योजना बनाइएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए। उनले भने, “रु. १२ लाख ५० हजारमा खरिद गरिएको एम्बुलेन्सको बडी बनाउन केही दिन लाग्ने भएकाले पूरा तयारी भएपछि सेवा दिन थालिनेछ।” एम्बुलेन्स चालक र पेट्रोलको खर्च धान्ने गरी सहुलियतदरमा सेवा प्रदान गरिने र कमाउनेभन्दा पनि सेवामुखी भावनाले काम गर्ने योजना रहेको अध्यक्ष थापाले जानकारी दिए।
तनहुँको पूर्वी क्षेत्रमा अवस्थित यो गाउँपालिका गोरखा र चितवन जिल्लासँग सीमा जोडिएको छ।