काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको उमेर शनिबार निधन भएको छ। नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो। लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका गिरी साउन ९ गते मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। शनिबार राति उनको निधन भएको छ।
काँग्रेसका नेता तथा समाजवादी चिन्तक समेत रहेका गिरि प्रतिनिधिसभा सदस्य समेत रहेका थिए। गिरिले २०१७ सालदेखि नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा थालेका थिए। बुवा मित्रलाल गिरि कांग्रेसको राजनीतिमा सक्रिय भएको हुनाले गिरी राजनीति सानै उमेरबाट प्रारम्भ भयो।
राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष उनले जेल जीवन बिताइसकेका छन्। उनी २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस) को निर्वाचित उपाध्यक्ष थिए। २०५१ सालको संसदीय निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भएपछि गिरि राष्ट्रिय राजनीतिमा उदाएका थिए।
०५६ साल निर्वाचनमा सिरहा ५ मा पराजित भएका उनी पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक सभासद भए। ०७४ मा भएको निर्वाचनमा उनी सिराहा १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। कांग्रेसमा गिरि कृष्णप्रसाद भट्टराई नजिकका नेताका रूपमा चिनिन्थे। पछि पनि गिरिले शेरबहादुर देउवालाई साथ दिए। देउवाले पार्टी फुटाउने बेलामा पनि गिरि देउवाकै साथमा थिए।
भारतस्थित जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका गिरिले नेपाली राजनीतिमा प्रखर नेताको छवि बनाएका थिए।