काठमाडौँ - घुँडाको सर्जरी गरेका फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले यो वर्ष कतारमा हुने विश्वकप गुमाउन सक्ने बताइएको छ। २९ वर्षीय पोग्बा गत जुलाईमा चोटग्रस्त बनेका थिए र यो सिजन उनले एउटा पनि खेल खेलेका छैनन्।
फ्रान्सले २२ नोभेम्बरमा अस्ट्रेलियाविरुद्ध विश्वकपको पहिलो खेल्नेछ। ‘यो बिहान पोग्बा दोस्रोपटक प्रशिक्षणमा सहभागी भएका थिए। तर, उनी बीचमै रोकिए। त्यसपछि उनले अपरेसन गर्नुपर्ने निर्णय गरियो,’ युभेन्टसका मुख्य प्रशिक्षक मासिमिलानो एलेग्रीले भने, ‘हामीले आगामी जनवरीसम्ममा उनलाई मैदानमा फर्किएको देख्न सक्छौँ।’ युभेन्टसले पछि पोग्बाको अपरेसन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको छ।
पहिलोपटक जाडो महिनामा हुन लागेको विश्वकपका लागि १३ नोभेम्बरबाट इटालियन सिरिए ए रोकिनेछ। त्यसपछि पुनः जनवरीमा सुरु हुनेछ। ‘के पोग्बा विश्वकपका लागि तयार हुनेछन्?,’ भन्ने प्रश्नमा एलेग्रीले भने, ‘विश्वकप मेरो समस्या होइन, युभेन्टसको समस्या के हो भने उनी जनवरीमा मात्फर र्किनेछन्।’
म्यानचेस्टर युनाइटेडसँगको करार सकिएपछि पोग्बा यो सिजन युभेन्टस फर्किएका थिए। उनले सन् २०१८ को विश्वकपको फाइनलमा क्रोएसियाविरुद्ध ४-१ को जीत निकाल्ने क्रममा गोलसमेत गरेका थिए।