काठमाडौँ - आगामी साता प्रदर्शन हुन लागेको फिल्म ‘कबड्डी ४’लाई ठूलो राहत मिलेको छ। नेपाली फिल्मको ब्यापारलाई दृष्टिगत गर्दै एप्पल इन्टरटेनमेन्टले टम क्रुज स्टारर फिल्म ‘टपगन माभेरिक’लाई एकसाता पोस्टपोन्ड गरिदिएको हो।
भारतसहित विश्व बक्स अफिसमा क्रुजको उक्त फिल्म जेठ १३ गते प्रदर्शन हुँदैछ। तर, एप्पलले फिल्मलाई एकसाता पछाडि रिलिज गर्ने निर्णय गरेको छ। अब भने टपगन फिल्म जेठ २० गतेदेखी प्रदर्शन हुनेछ।
‘आशा गरिएको नेपाली फिल्मको ब्यापारलाई ख्याल गर्दै एकसाता पछाडि सार्ने निर्णय भएको छ’ एप्पलकी ब्यवस्थापक जेनिस पहारीले भनिन्, ‘एकसाता पोस्टपोन्ड गरेका छौं। प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा बुधबार बेलुका प्रिमियर भएको यो फिल्मलाई लिएर विश्वभर नै ब्यापक पर्खाइ छ। कोरोना महामारी पछाडि नेपाली बक्सअफिसमा ‘कबड्डी ४’ प्रतीक्षित सिक्वेल हो।
कबड्डी निर्माता मणिराम पोखरेलले फिल्म पोस्टपोन्ड गर्ने एप्पलको निर्णय स्वागतयोग्य भएको बताएका छन्। ‘नेपाली फिल्म क्षेत्रमा यस्तो सहकार्य जरुरी छ’ पोखरेलले भने, ‘हामीले यसलाई सकारात्मक रुपमा लिएका छौं।’