काठमाडौँ - मानव अधिकारकर्मी कृष्ण पहाडीको कवितासंग्रह ‘जलमा हलचल सूक्ष्मको’ प्रकाशनमा आएको छ। मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति पहाडीको यस कृतिमा संगृहीत कविताहरू जगत्मुखी, जीवनमुखी र सेवामुखी चेतले निर्दिष्ट रहेको बताइएको छ।
पहाडीको यो ३०औँ पुस्तक हो। ६२ कविता समावेश रहेको यस संग्रहमा कुनै कविता ब्रह्माण्डका बारेमा, कुनै अन्तरिक्ष, कुनै तारा र ग्रहहरूका बारेमा लेखिएका छन्।
कृतिमा कुनै कविता मृत्युकालीन अवस्थाको विषयमा लेखिएको छ। भने, कुनैमा मृत्युपश्चात्को कल्पनातीत अनुभूति चित्रण गरिएको छ। अधिकांश कविता जीव, जगत् र प्रकृतिको अन्तरसम्बन्ध र कुनै विज्ञान र ज्ञानबारे रहेको छ।
उक्त पुस्तकको मूल्य २०० रुपैयाँ राखिएको छ। मानवअधिकार तथा शान्ति समाजका अनुसार पुस्तक बिक्रीबाट आउने सम्पूर्ण रकम मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालय भवन खरिद/निर्माणमा लगाइने छ।