गण्डकी - ‘दक्षिण एशियामा प्राकृतिक र सांस्कृतिक सम्पदा’ विषयक दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ।
पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय एवं त्रिभुवन विश्वविद्यालय पृथ्वी नारायण क्याम्पस, पोखराद्वारा संयुक्तरूपमा आयोजित सम्मेलनमा प्रस्तुतिकरण र सामूहिक छलफल गरिएको थियो। दक्षिण एसियाली अध्ययनका विभिन्न पक्षका अन्तरविषयमा सहभागी विद्वान्ले प्रस्तुतिकरण र सामूहिक छलफलमा भाग लिएका थिए।
सम्मेलनमार्फत दक्षिण एसियाली अध्ययनसँग सम्बन्धित सङ्ग्रहालय र स्मारक, आदिवासी, भाषा र साहित्य, पर्यटन, वातावरण र इकोक्रिटिकिज्म्, सिनेमा, प्रदर्शन र दृश्यकलाका साथै न्यू मिडिया, सञ्चार र साइबर संस्कृतिलाई निचोडको रूपमा प्रस्तुत गर्दै प्रस्तुत विषयका अनुभव र अन्वेषणलाई एकत्रित गरी जर्नल प्रकाशित गरिने जनाइएको छ।
सम्मेलनमा नेपाल, भारत, चीन, भुटान, बङ्गलादेश र इटालीका १५ वटा विश्वविद्यालयबाट कूल ८६ प्राध्यापक, विद्वान्, स्वयंसेवक एवं अनुसन्धानकर्ता सहभागी रहेका थिए। कूल ३५ वटा कार्यपत्र प्रस्तुत गरिएको पोखरा विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका अङ्ग्रेजी केन्द्रीय विभागका प्रा डा अभि सुवेदी र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा अम्मराज जोशी प्रमुख वक्ताका रुपमा रहेको सम्मेलन पाँचवटा सत्रमा चलेको थियो।