न्यूजिल्याण्डलाई ८ विकेटले हराउँदै ‘क्लिन स्विप’ बाट जोगियो वेस्ट इण्डिज

काठमाडौँ - न्यूजिल्याण्डविरुद्धको टी-२० सिरिजमा घरेलु टोली वेस्ट इण्डिज ‘क्लिन स्विप’ हुनबाट जोगिएको छ। आज बिहान सम्पन्न तेस्रो खेलमा न्यूजिल्याण्डलाई ८ विकेटले हराउँदै वेस्ट इण्डिज ‘क्लिन स्विप’ हुनबाट जोगिएको हो।

यद्यपि सिरिज भने उसले २-१ ले गुमाएको छ। तेस्रो खेलमा न्यूजिल्याण्डले दिएको १४६ रनको लक्ष्य वेस्ट इण्डिजले १९ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

उसका लागि शामराह ब्रुक्स र ब्रेण्डन किंगले अर्धशतकीय पारी खेलेका थिए। ५९ बलको सामना गरेका ब्रुक्सले ३ चौका र २ छक्कासहित अविजित ५६ रन बनाएका थिए। त्यस्तै, किंगले ३५ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५३ रनको पारी खेलेका थिए।

डेभन थोमस ५ रनमा आउट हुँदा कप्तान रोभम्यान पावेलले १५ बलमा २ छक्का र २ चौकासहित अविजित २७ रनको योगदान दिएका थिए। न्यूजिल्याण्डका लागि इश सोढी र टिम साउथीले १/१ विकेट लिएका थिए।

त्यसअघि जमैकास्थित सबिना पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो। उसका लागि ग्लेन फिलिप्सले ४१, कप्तान केन विलियम्सले २४, डेभन कन्वेले २१, मार्टिन गुप्टिलले १५, डारियल मिचेलले १४ र मिचेल सान्टनरले १३ रन बनाएका थिए।

वेस्ट इण्डिजका लागि ओडेन स्मिथले ३, अकील हुसेनले २, हेडेन वाल्स र डोमेनिक ड्रिक्सले १/१ विकेट लिएका थिए। सिरिजको पहिलो र दोस्रो खेलमा न्यूजिल्याण्ड क्रमशः १३ र ९० रनले विजयी भएको छ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×