काठमाडौँ - म्याग्दी जिल्ला कुष्ठरोगका जोखिममा रहेको पाइएको छ।
जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलनको घोषणा गरिए पनि यस वर्ष जिल्लामा ६ नयाँ कुष्ठरोगी भेटिएका छन्। ६९औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसका अवसरमा बेनीमा हालै आयोजित कार्यक्रममा गत वर्षका नियमित औषधि सेवन गर्ने तीन र यस वर्ष नयाँ ६ जना गरी नौजना कुष्ठरोगी पहिचान गरिएको स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीले जानकारी दिए।
जिल्लामा हाल औषधि सेवन गरेका रोगीमा बेनी नगरपालिकामा तीन, रघुगङ्गा, मालिका र अन्नपूर्ण गाउँपालिकामा एक-एकजना छन्। गत आवमा एकभन्दा बढी कुष्ठरोगी भएको देशैभरका ११ जिल्लामा म्याग्दीसमेत परेको छ। जिल्लमा अन्य पालिकाको तुलनामा बेनी उच्च जोखिममा रहेको पाइएको छ। गत आवमा निको भएका नौजना बिरामी नै बेनीको रहेको सुपरभाइजर सुवेदीको भनाइ छ।
जिल्लामा भेटिएका रोगीको सङ्ख्याका आधारमा गण्डकी प्रदेशभित्र कुष्ठरोगका धेरै बिरामी भएको जिल्लामा पर्ने स्वास्थ्य कार्यालयले जनाएको छ।