काठमाडौँ - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले झन्डै दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैंग्लोरमा पुनः उडान सञ्चालन गर्ने भएको छ।
कोभिड–१९ महामारीका कारण स्थगित भएको उक्त गन्तव्यको उडान पुनः सञ्चालन गर्न लागिएको निगमले जनाएको छ। निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आगामी चैत १३ गते (मार्च २७, २०२२) देखि मुम्बईमा नियमित उडान पुनः सञ्चालन गर्न लागिएको छ। यो गन्तव्यमा साताको तीन उडान हुनेछ। काठमाडौँ–मुम्बई रुटमा बुधबार, शुक्रबार र आइतबार उडान हुनेछ।
त्यसैगरी निगमले भारतकै अर्को महत्वपूर्ण गन्तव्य बैंग्लोरमा पनि चैत १५ (मार्च २९, २०२२) देखि पुनः उडान सञ्चालन गर्ने निगमका प्रवक्ता खड्काले बताए। उनका अनुसार यो गन्तव्यमा पनि सातामा तीन उडान सञ्चालन हुनेछ। मङ्गलबार, बिहिबार र शनिबार उडान सञ्चालन गरिनेछ।
कोरोना महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण २०७६ चैतदेखि स्थगित उडान फेरि सुरु हुने भएका हुन्। सन् २०२० मार्च २१ तारिखदेखि भारतको बैंग्लोरमा नेपाल एयरलाइन्सको उडान हुन सकेको थिए।
काठमाडौँ–बैंग्लोर–काठमाडौँको उडान धार्मिक पर्यटनका दृष्टिले पनि राम्रो मानिन्छ। नेपाल एयरलाइन्सको बैंग्लोर स्टेसनका प्रबन्धक रीतादेवी राईका अनुसार नेपालबाट बैंग्लोर र बैंग्लोरबाट नेपाल आउने धार्मिक पर्यटकको सङ्ख्या ठूलो रहेको छ।