काठमाडौँ- भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दिनहुँ बढिरहेको छ। गत २४ घण्टामा मात्र त्यहाँ १ हजार २१५ संक्रमितले ज्यान गुमाएका छन्।
सोमबार भारतमा १ हजार १८८ संक्रमितको मृत्यु भएको थियो। भारतमा पछिल्लो आठ दिनमध्ये ६ दिन दैनिक १ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ। योसँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ५ लाख ५ हजार नाघेको छ। भारतमा संक्रमणदर चाहिँ निरन्तर ओरालो लागिरहेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा ६९ हजार ५४४ संक्रमित मात्र भेटिएका छन्। सोमबार भारतमा ६७ हजार ५ सय जनामा कोरोना पुष्टि भएको थियो।
संघीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा ४ करोड २४ लाख व्यक्ति संक्रमित भएका छन्। जसमध्ये ८ लाख ८३ हजार संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ७२ हजार व्यक्ति संक्रमणमुक्त भएका छन्। हालसम्म त्यहाँ ४ करोड १० लाख व्यक्ति उपचारपछि निको भएका छन्।