काठमाडौं । राप्रपाले १६ चैतमा काठमाडौंकेन्द्रित जनसंघर्ष गर्ने निर्णय गरेको छ । पार्टीले ९ फागुनमा सरकारसमक्ष पेस गरेको ४०बुँदे मागपत्र पूरा गराउन फागुन तेस्रो सातादेखि चैत दोस्रो सातासम्म सबै जिल्लामा जनदबाबका कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेको छ ।
‘चैत १६ गते काठमाडौंमा जनप्रदर्शन आयोजना गर्दै छौँ, त्यसअघि जागरणसभाहरू आयोजना गर्ने निर्णय भएको छ,’ राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने । यस क्रममा राप्रपाले बुधबार देशैभरिबाट अगुवा कार्यकर्ता बोलाएर प्रशिक्षण दिएको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार अध्यक्ष एवं आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नीतिगत तथा आन्दोलनको अपरिहार्यताका विविध विषयमा कार्यकर्तालाई प्रशिक्षण दिए ।
पार्टी महामन्त्री एवं आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्शेर राणाले संघर्षको कार्यक्रमका खाका, कोषाध्यक्ष, आर्थिक समिति संयोजक नीलकण्ठ काफ्लेले अर्थ व्यवस्थापन र प्रवक्ता एवं आन्दोलन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले आन्दोलनको प्रचार रणनीति विषयमा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए ।
राप्रपाले २३ फागुनमा जिल्ला तहमा तयारी बैठक र प्रशिक्षण, २८ फागुनमा संघीय र प्रदेश सभा निर्वाचन क्षेत्रमा, सबै स्थानीय तहमा तयारी बैठक, ७ चैतसम्म सबै जिल्लामा प्रचारात्मक कार्यक्रम, घरदैलो, कोणसभा र साना ठूला सभा गर्नेछ ।
यसैगरी, १० चैतमा देशका मुख्य सहरमा मोटरसाइकल र्याली र १४ चैतमा पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले राष्ट्रिय झण्डासहित राजधानीमा परेड प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।