काठमाडौँ- शनिबार राति फ्रेन्च लिग वानमा पीएसजी नन्ट्ससँग ३–१ ले पराजित भएको छ। शीर्ष क्लब पीएसजीको जारी सिजन यो दोस्रो हार हो।
घरेलु टोली नन्ट्सले पहिलो हाफमै तीन शून्यको अग्रता लिएको थियो। रान्डल कोलो मुएनीको गोलबाट नन्ट्सले चौथो मिनेटमै अग्रता लिएको थियो। १६औं मिनेटमा क्वेन्टिन मार्लिनले अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्जुरी समयमा लुडोभिक ब्लासले पेनाल्टीमा तेस्रो गोल थपे।
दोस्रो हाफको दोस्रो मिनेटमै लियोनल मेसीको पासमा नेइमारले गरेको गोलबाट पीएसजीले पुनगरागमनको प्रयास गरेको थियो। ५९औं मिनेटमा पीएसजीले पेनाल्टी अवसर पायो। तर, ब्राजिलियन फरवार्ड नेइमार पेनाल्टीमा गोल गर्न चुके। पीएसजीले अन्तिम २० मिनेटमा नन्ट्समाथि दबाब बनाए पनि पुनरागमन गर्न सकेन।
हारका बाबजुद पीएसजीले दोस्रो स्थानको मार्सेलाई १३ अंकले पछाडि पारेको छ। तथापि, मार्सेले एक खेल कम खेलेको छ। विजयी नन्ट्स ३८ अंकका साथ पाँचौं स्थानमा छ ।