काठमाडौँ - स्वास्थ्य परीक्षणको क्रममा एक बिरामीको घाँटीभित्र सिङ्गो अक्टोपस अड्किएको देखेपछि डाक्टरसमेत चकित परेका छन्। बिरामीले लगातार बान्ता किन गरिरहेका छन् भनेर ग्यास्ट्रोइन्टेस्टाइनल परीक्षण गर्ने क्रममा घाँटीभित्र अक्टोपस अड्किएको भेटिएको थियो।
सिंगापुरका नाम नखुलाइएका एक व्यक्तिले काँचो अक्टोपस भएको खानेकुरा खाएपछि बान्ता गर्न थाले। केही त समस्या पक्कै छ भन्ने उनलाई लाग्यो। एक छिन पछि त उनले केही निल्नै सकेनन्। त्यसपछि भने उनी तान टक सेङ्ग अस्पतालको इमर्जेन्सीमा गए। त्यहाँका डाक्टरले तत्काल सिटी स्क्यान गरे। उक्त स्क्यानमा उनको घाँटीमा केही गह्रुङ्गो कुरा अड्किएको देखियो। सुरुमा त डाक्टरले त्यो कुरा के हो भनेर थाहा पाउन सकेनन्। त्यसपछि एसेफागोग्यास्ट्रोडुओडेनोस्कोपी गरियो। क्यामेरा भएको एउटा सानो, लचिलो ट्युब बिरामीको घाँटीमा प्रवेश गराएर परीक्षण गर्दा मात्रै ती व्यक्तिको घाँटीमा सिङ्गो अक्टोपस अड्किएको भन्ने थाहा भयो।
इन्डोस्कोप क्यामेरा तस्बिर हालै अमेरिकन ग्यास्ट्रोइन्टेस्टाइनल असोसिएसन (एजीए) इन्स्टिच्युटले सेयर गरेको छ। यसमा अक्टोपसको ८ वटा टेन्टाकल ती व्यक्तिको घाँटीको वरिपरि अड्किएको देखिएको छ। यसैकारण उनले केही कुरा निल्न पनि सकिरहेका थिएनन्।
सुरुमा डाक्टरले ‘पुस टेक्निक’ अपनाए। जुन धेरैजसो अवस्थामा सफल पनि हुन्छ तर अक्टोपस त्यति सजिलै त्यहाँबाट गएन। धेरै दबाब दिँदा पनि घाँटीको नलीमा क्षति हुने जोखिम थियो। त्यसैले शल्यक्रियामा प्रयोग गर्ने ट्विटर प्रयोग गरेर घाँटीमा बेस्सरी टाँस्सिएर अड्किएको अक्टोपसलाई बाहिर निकालियो।
ती व्यक्तिले सिङ्गो अक्टोपस किन निलेका थिए भनेर स्पष्ट जानकारी छैन। दुई दिन अस्पताल बसेपछि पनि उनलाई बिदा दिइयो। भाग्यवश उनी राम्रोसँग निको भए।