काठमाडौँ - ३६ वर्षको लामो प्रतीक्षापछि अर्जेन्टिनाले विश्वकपको उपाधी हात पार्यो। विश्वकप ट्रफी उचालिरहँदा लियोनेल मेस्सी कालो पहिरनमा थिए। ट्रफी उचाल्न मञ्चमा उक्लिएपछि मेस्सीलाई कतारका अमिर शेख तमीम बिन हमद अल थानीले कालो र सुनौलो रंगको जाली भएको लुगा लगाइदिएका थिए।
अहिले उक्त लुगा लगाएको मेस्सीको तस्वीर सामाजिक सञ्जालमा धेरै चर्चामा छ। जितको खुसीयालीमा कालो लुगा लगाइदिएको, मेस्सीको जर्सी छोपिएको भन्दै मेस्सीका समर्थकहरुले आलोचना पनि गरिरहेका छन्।
त्यसो भए के हो त मेस्सीलाई लगाइएको कालो लुगा?
मेस्सीलाई लगाइदिएको लुगालाई विश्ट भन्छन्। यो अरब देशहरुको सांस्कृतिक पहिरन हो। यो लुगा अरबमा विशेष अवसरमा लगाउने गरिन्छ।
कतार टुर्नामेन्ट आयोजक समितिका महासचिव हसन अल थवाडीका अनुसार ‘यो विशेष समारोहमा लगाइन्छ। मेस्सीको जितको सम्मानमा कतारले उनलाई यस्तो लुगा लगाइदिएको हो।’ - एजेन्सी