डी ककको आक्रमक ब्याटिङले लखनउ आईपीएलको प्लेअफमा

काठमाडौँ - क्विन्टन डी ककको अविजित १४० रनप्रेरित लखनउ सुपर जायन्टले बुधबार राति कोलकाता नाइट राइडर्सलाई दुई रनले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा स्थान पक्का गरेको छ। 

आईपीएलको प्लेअफमा स्थान पक्का गर्ने लखनउ दोस्रो टोली हो। यसअघि गुजरात टाइटन्सले पनि प्लेअफमा स्थान पक्का गरिसकेको छ।

डी ककले अविजित १४० रन बनाउनुका साथै कप्तान केएल राहुलसँग कीर्तिमानी २१० रनको साझेदारी गरेपछि टस जितेर ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा विना विकेट क्षति २१० रन बनाएको हाे।  जुन आईपीएल इतिहासमा पहिलो विकेटका लागि बनेको सबैभन्दा ठूलो साझेदारी हो। आईपीएलमा डी ककको यो दोस्रो शतक हो। साथै उनी आईपीएलमा एकै इनिङ्समा व्यक्तिगत उच्च स्कोर बनाउनेमा तेस्रो स्थानमा छन्। उनीभन्दा अगाडि अविजित १७५ रन बनाएका क्रिस गेल र अविजित १५८ रन बनाएका ब्रान्डन म्याककुलम छन्। 

मुम्बईको डीवाई पाटिल स्पोर्ट्स एकेडेमीको मैदानमा २११ रनको लक्ष्इ पछ्याएको कोलकाताले आठ विकेट गुमाएर २०८ रनमात्र बनायाे। हारसँगै कोलकाताको प्लेअफ सम्भावना समाप्त भएको छ। कोलकाता छैटौं स्थानमा रहेकाे छ। जुन चौथो स्थानमा रहेको दिल्ली क्यापिटल्स र पाँचौं स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरभन्दा दुई अंकले पछाडि हो। 

२११ रनको लक्ष्य पछ्याएको कोलकाताका लागि कप्तान श्रेयस ऐयरले ५०, नितिस रानाले ४२, रिन्कु सिंहले ४०, साम विलिङ्सले ३६ र सुनिल नारिनले अविजित २१ रन बनाएका थिए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

लखनउका मोहसिन खानले चार ओभरमा २० रन दिएर तीन विकेट लिए। त्यस्तै मार्कुस स्टोइनिसले दुई ओभरमा २३ रन दिएर तीन विकेट लिए। कृष्णप्पा गोथाम र रवि विश्नोइले एकएक विकेट लिएका थिए। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×