काठमाडौँ - इटाली र अर्जेन्टिनाको खेल आज राति हुँदैछ। दुई महादेशस्तरका च्याम्पियन देशहरू ‘डिएगो म्याराडोना सुपर कप’मा आज राति खेल्न लागेको हो। अर्जेन्टिना र इटालीको खेललाई विश्व फुटबल जगतले व्यग्र प्रतीक्षाका साथ हेरिरहेको छ। यो खेलमाथि सिंगै विश्वको नजर रहने पक्का छ।
खेल इंग्ल्यान्डको वेम्बली रंगशालामा हुनेछ। खेल नेपाली समय अनुसार मध्य राति ठीक १२ः३० बजेबाट सुरु हुनेछ ।
यो खेल दक्षिण अमेरिकी महादेशबाट कोपा अमेरिका च्याम्पियन र युरोपियन महादेशबाट युरो कपको च्याम्पियन देश बीच खेलाउन लागिएको हो। यो खेलका लागि दक्षिण अमेरिकी फुटबल महासंघ कोन्मेबोल र युरोपियन फुटबल महासंघ युईएफए ले संयुक्त रूपमा फिफा समक्ष प्रस्ताव गरेपछि खेल खेलाउने अनुमति मिलेको थियो।
खेललाई सुरुमा मैत्रीपूर्ण भनिए पनि अफिसियल रहेको बताइएको छ।
गत वर्ष २०२१ को युरो कपको उपाधि इटालीले जितेको थियो। कोपा अमेरिका अर्जेन्टिनाले जितेको थियो। अर्जेन्टिना आफ्नो महादेशबाट अपराजित रहँदै कतार विश्वकपमा छनौट भइसकेको देश हो भने इटाली यसपटक पनि विश्वकपमा छनौट हुन सकेन।
खेलमा अर्जेन्टिनाभन्दा इटाली चर्को दबाबमा हुनेछ। खेल दुवै देशका लागि उपाधिका साथै प्रतिष्ठाका लागि पनि ज्यादै महत्त्वपूर्ण खेल हुनेमा दुईमत छैन। गत वर्ष इटालीले युरो कप जित्दा शानदार यात्रा तय गरेको थियो। उसले फाइनलमा इंग्ल्यान्डलाई हराएर च्याम्पियन बन्दा अर्जेन्टिनाले कोपा अमेरिका ब्राजिललाई उसकै घरमा हराएर उपाधि जितेको थियो।