एन्फा अध्यक्ष शेर्पालाई पूर्वअध्यक्ष थापाको चुनौती

काठमाडाैँ - अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई आफूमाथि लगाएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन्।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले थापामाथि १० वर्ष प्रतिबन्ध लगाएको छ। एन्फा अध्यक्ष शेर्पाले सामाजिक सञ्जाल र विभिन्न कार्यक्रममार्फत आफूमाथि झुटो आरोप लगाइरहेको थापाले दाबी गरेका छन् ।

हुँदै नभएको आरोपले आफू र परिवारमाथि चोट पुगेको, मानसिक रूपमा पीडित बनेको एन्फाका पूर्वअध्यक्ष थापाले बताएका छन्। फिफाको कारबाही भोगिरहेका थापाले बुधबार पत्रकार सम्मेलन गरी आफूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका हुन् ।

०७१ सालमा एन्फाका तत्कालीन उपाध्यक्ष शेर्पाले थापाले अनियमितता गरेको भन्दै संसद्को सार्वजनिक लेखा समितिमा उजुरी दिएका थिए। १२ असोज २०७१ मा लेखा समितिले थापा संलग्न एन्फाका विभिन्न परियोजनामा ५८ करोड रुपैयाँ अनियमितता भएको आशंकामा छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको थियो। 

शेर्पाको आरोपको आधारमा फिफाको विशेष टोलीले छानबिन गरेको थापाले जानकारी दिए। ‘एन्फा अध्यक्ष शेर्पाले लगाएका आरोपका विषयमा अख्तियार र फिफाले पठाएको विशेष टोलीले छानबिन गरेको थियो, छानबिनपछि मलाई सफाइ दिइयो,’ उनले भने, ‘लेखा समितिले मलाई कहाँ कारबाही गरेको छ?’ थापाले एन्फाको आसन्न निर्वाचनअघिको पत्रकार सम्मेलन संयोग मात्र भएको बताए।

एन्फा निर्वाचन ६ असारमा हुँदै छ। थापाले शेर्पालाई बुँदागत रूपमा १४ वटा आरोप प्रमाणित गर्न चुनौती दिएका छन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×