न्युजिल्यान्डसँग अस्ट्रेलिया स्तब्ध

काठमाडौँ - घरेलु टोली अस्ट्रेलिया टी-ट्वेन्टी विश्वकपको पहिलो खेलमै स्तब्ध बनेको छ। शनिबार भएको सुपर १२ को खेलमा अस्ट्रेलियालाई न्युजिल्यान्डले पराजित गरेको हो।

सिड्नी क्रिकेटमा मैदानमा साविक विजेता घरेलु टोली अस्ट्रेलियाले न्युजिल्यान्डसँग ८९ रनको फराकिलो हार व्यहोरेको हो। २ सय १ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १७.१ ओभरमा एक सय ११ रन मात्रै बनायो।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक २८ रन बनाएका थिए। उनले २० बलमा १ छक्का र ३ चौका हिर्काएका थिए। यस्तै प्याट कमिन्सले २१, मिचेल मार्सले १६, कप्तान एरोन फिन्चले १३ र टिम डेविडले ११ रन बनाएका थिए। अस्ट्रेलियालाई कम योगफलमा रोक्न न्युजिल्यान्डका मिचेल स्यान्टनर र टिम साउथीले ३/३ विकेट लिए। यस्तै ट्रेन्ट बोल्डले २ तथा लकी फगुर्सन र इस सोधीले १/१ विकेट हात पारे।

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर दुई सय रनको योगफल बनाएको थियो।

न्युजिल्यान्डका लागि ओपनर डेविड कन्वेले अविजित ९२ रनको अर्धशतकीय पालि खेलेका थिए। उनले ५८ बलमा २ छक्का र ७ चौका हिर्काएका थिए। यस्तै फिना एलेनले ४२, जेम्स निसमले २६, कप्तान केन विलियम्सनले २३ र ग्लेन फिलिप्सले १२ रन बनाएका थिए। अस्ट्रेलियाका जोस हेजलउडले २ विकेट लिए। यस्तै एडम जाम्पाले १ विकेट हात पारेका थिए।

पहिलो खेलमै प्रभावशाली जित हात पारेको न्युजिल्यान्ड २ अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। यस समूहमा न्युजिल्यान्ड र अस्ट्रेलियासँगै इङ्ल्यान्ड, श्रीलंका, आयरल्यान्ड र अफगानिस्तान रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×